२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एउटै व्यक्तिले ८० करोड ठगेको उजुरी

विर्तामोड । झापामा एकपछि अर्को गर्दै ठगीका घटना बढ्न थालेका छन्। झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै यता झापाको बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका भारत पश्चिम बङ्गालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पङ्कज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको ८० करोड रकम ठगेर फरार भएका छन्।

उनी धेरै सर्वसाधारण एवम् व्यापारीलाई ठगेर बेपत्ता भएको भन्दै उजुरी परेको छ। अग्रवालले पाँच जिल्लाका दुई सयभन्दा धेरै व्यवसायीसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको प्रहरीमा पीडितले दिएको सापटी र ब्याजमा रकम लिएर फरार भएको भन्दै प्रहरीमा उजुरीको चाङ लागेको छ। अग्रवालले स्थानीयको ८० करोडभन्दा धेरै रकम लिएर भागेको पीडितको दाबी छ ।

अग्रवालले पैसा दिँदा केही कारोबारीलाई कपाली तमसुक र केहीलाई भर्पाई गरिदिएको पाइएको छ। पीडितले भएका सबै प्रमाण उजुरी पत्रसँगै संलग्न राखेका छन् । ठगीमा परेकामध्ये १७ जनाले बिहीबार जिल्ला प्रहरी पाँचथरमा सामूहिक निवेदन दिएका थिए।

यसअघि अग्रवालबाट पीडित १३ जनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइसकेको प्रहरीले जनाएको छ। उनले केही कारोबारीलाई भाखा पुगेका दिन पैसा निकाल्नु भन्दै दिएका चेकको खातामा रकम नभएको पीडितहरूले बताएका छन्।

ब्याजको प्रलोभनकै कारण टाढाबाट आएका व्यापारीलाई कारोबारीले ठुलो परिमाणमा पैसा सापटी दिने, भरपर्दो कागज नबनाउने र भागिसकेपछि मात्रै प्रहरी प्रशासन गुहार्ने गरेका कारण ठगिने क्रम नरोकिएको प्रहरीको भनाइ रहेको छ।

बिर्तामोडमा पसल सञ्चालन गर्दै आएका उनी व्यवसायीबाट अलैँची र नगद लिएर एक महिनादेखि बेपत्ता भएका हुन्। उनी श्रीमती, बुबा, आमा र छोरीसँग बिर्तामोडमा बस्दै आएका थिए। अग्रवाल सपरिवार एक महिना अघिदेखि बेपत्ता भएको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका हुन्। उनका बुबा भारतबाट आएर ५० वर्षदेखि बिर्तामोडमा व्यापार गर्दै आएका थिए। पङ्कजको नाममा झापाबाटै ०४–०१–६९–१०९५३ नम्बरको नागरिकता जारी भएको छ।

पङ्कज व्यापारी व्यवसायीको करोडौँ ठगेर बेपत्ता बनेसँगै झापासँगै छिमेकी जिल्ला इलाम र पाँचथरका व्यापारी व्यवसायी दैनिक जसो प्रहरी र प्रशासनमा धाउने गरेका पीडित युद्धबहादुर बोहोराले बताउनुभयो।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस