काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक भोलि भदौ १३ गते सिरहामा बस्दैछ । यसअघि बस्ने भनिएको बैठक बर्षा र डुबानका कारण स्थगित भएको थियो । सिरहाको धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने बैठकले धेरै सन्देश दिने नेताहरुको दावी छ ।
एमालेले सर्रे अम्बासमा सचिवालय बैठक गर्नु निक्कै अर्थपूर्ण छ । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो। यति मात्र हैन । एमालेको सुदृढ विचार जनताको बहुदलीय जनवाद (जवज) को विजारोपणपनि त्यही दिनबाट भएको थियो ।
यसबेला एमालेको नेतृत्वदायी निकायको बैठक त्यहाँ किन हुँदैछ ? धेरैलाई अनौठो लागेको हुनसक्छ। यस पछाडि केही भावनात्मक, केही ऐतिहासिक र केही भविष्यका लागि संकल्पहरू गाँसिएका छन्। पार्टीबाट टाढिएका अशोक राईलाईपनि यो स्थान सम्झाउनेछ । माधव नेपाल, बामदेव गौतमहरुलाईपनि यो स्थानले बोलाउनेछ । किनकी अधिवेशन सम्पन्न गर्नका लागि स्थान तय र निर्माणका लागि उहाँहरुले भूमिका निर्वाह गर्नुभएको थियो । अहिलेपनि उहाँहरु जवजलाई छोड्न नसक्ने अभिव्यक्ति दिँदै आउनुभएको छ ।
पार्टीको कार्यक्रममा ‘बहुदलीय प्रतिस्पर्धा सहितको जनवादी व्यवस्था’ भनेर विशेष व्यवस्था उल्लेख गरिएको थियो, जुन २०४९ सालको पाँचौं राष्ट्रिय महाधिवेशनले पारित गरेको ‘जनताको बहुदलीय जनवाद’ को कार्यक्रमको महत्वपूर्ण आधार थियो। यसरी ‘माले पार्टी’ को राजनीतिक–सांगठनिक जीवन र मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशामा हिँडाउने कुराको ऐतिहासिक र महत्वपूर्ण प्रारम्भ गरेको थियो, सिराहाको सर्रे अम्बासमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशन ।
महाधिवेशनबाट महत्वपूर्ण नीतिगत निर्णयहरू गर्न र सिंगो पार्टी पंक्तिलाई त्यसमा दृढतापूर्वक हिँडाउन मदन भण्डारीको महत्वपूर्ण र नेतृत्वदायी भूमिका रहेको थियो। उहाँको त्यो भूमिका यति महत्वपूर्ण ढंगले स्थापित भएको थियो कि उहाँ चुनौतीहीन नेताका रूपमा अगाडि आउनुभएको थियो र यही विशेष हैसियतका कारण महाधिवेशनलगत्तै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट उहाँ सर्वसम्मतिका साथ महासचिवमा निर्वाचित पनि हुनुभएको थियो। त्यो महाधिवेशनमा मदन भण्डारी पार्टीभित्र भरोसालाग्दो हिसाबले उदाउँदै गरेको व्यक्तित्वका रूपमा स्थापित हुनुभएको थियो। आजपनि उहाँलाई फरक विचार राख्ने दलका मानिसहरुले समेत जननेता भनेर पुर्काछन् । यसैकारण यो बैठक अति नै महत्वपूर्ण छ ।