२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

एमाले नेताहरू सहित ६८ यात्रुलाई बुद्ध एअरले अर्कै जहाजमा पठायो जनकपुर

buddha air news :

काठमाडौं । बुद्ध एअरले जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको जहाजका यात्रुहरूलाई अर्को जहाजमा पठाएको छ। जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर उडाइएको बुद्ध एअरका सूचना अधिकृत दिपेन्द्र कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार जहाजमा ६८ यात्रु हुनुहुन्थ्यो । ‘उहाँहरू सबैलाई अर्को जहाजबाट जनकपुर पठाइएको छ,’ कर्णले भन्नुभयो । सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेताहरू सोही जहाजमार्फत् जनकपुर जाँदै हुनुहुन्थ्यो । जहाज २३ मिनेट उडेपछि प्राविधिक समस्या भन्दै फेरि काठमाडौं फर्किएको उपाध्यक्ष नेम्वाङले बताउनुभयो ।

बुद्ध एअरले पनि प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको जानकारी गराउँदै काठमाडौंमा सो जहाजको चेकजाँच भइरहेको बताएको छ। ‘काठमाडौंबाट जनकपुर उडान नं. ५०१ जहाज ९एन–एजेशून्य कलसाइ भएको जहाजमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ। सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन्। यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बुद्ध एयरले सूचनामार्फत् भनेको छ। एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस