२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माण्डु हाइड्रोपावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

IPO Share

Mandu Hydropower IPO :

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरिद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि भदौ १३ गतेसम्म मात्र आईपीओ विक्री खुला गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अनुमति पाएको थियो । आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरि सकिएको हो ।

बाँकी रहेको आईपीओमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिका लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याईएको हो । भदौ १२ गतेसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ६ दशमलव ५८ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराईएको रेटिङमा इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी मानिने इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

यो कम्पनी २०६९ साल वैशाख ३ गते पब्लिक लिमिटेड कम्पनीमा दर्ता भई सञ्चालनमा रहेको छ । मकवानपुर जिल्लामा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ साल चैत १९ गतेदेखि व्यापारिक उत्पादन सुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड २७ लाख रूपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस