२०८३ जेष्ठ २० गते बुधवार | 2026 June 3rd Wednesday

गर्मी नहुने कोरियामा १० डिग्री बढ्यो, अत्यधिक गर्मीले स्काउट विश्व सम्मेलनमा सहभागी बिरामी

काठमाडौं । दक्षिण कोरियाको उत्तरी जेउला प्रान्तको साइमानगयुममा मंगलबारबाट सुरू भएको १५८ देशका ४३ हजार यूवा स्काउट सहभागी भएको २५ औं विश्व सम्मेलनमा अत्याधिक गर्मीका कारण सहभागीहरु बिरामी परेका छन् । गर्मीका कारण सहभागीहरूमध्ये ४०० भन्दा बढी बिरामी परेको सम्मेलन आयोजक कमिटीका महासचिव चोई चाङ हेङले बुधबार प्रेस ब्रिफिङमा बताएका छन् ।

कमिटीले सम्मेलन स्थलमा वातावरण चिसो बनाउने प्रणाली बलियो बनाउनुका साथै सटल बसको प्रतीक्षा ३० मिनेटबाट १० मिनेटमा झारेको र आकस्मिक अस्थायी अस्पतालमा ५० देखि १५० सैयाहरू जडान गरिने जानकारी दिएको छ । सहभागीलाई गर्मीबाट बच्न पानी जुस लगायतका पेय पदार्थहरूको व्यवस्था गर्दै उनीहरूको गर्मीले स्वास्थ्यमा पार्न सक्ने प्रभावको विषयमा विशेष ध्यान दिएको जनाएको छ ।

दक्षिण कोरियामा अहिले अत्याधिक गर्मीका कारण जनजीवन पनि प्रभावित बन्न पुगेको छ । विश्व जलवायु परिवर्तनको कारण केही वर्षयता लगातार रूपमा दक्षिण कोरियामा तापक्रम वृद्धि भएको मौसम विभागले जनाएको छ । पहिलो पल्ट सन् १९७९ मा मौसमको जानकारी राख्न सुरु गरेको कोरियामा गर्मी मौसममा सन् २०१४ सम्म २८.१ डिग्री सेल्ससियस सरदर रहेकोमा पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि हुँदै २०२३ सम्म आइपुग्दा देशको सरदर तापक्रम ३६ डिग्रीसम्म र कतै कतै ३८ डिग्रीसम्म पुगेको छ ।

गर्मी अझै केही दिन बढ्ने र गर्मीबाट बच्न र जनजीवन सामान्य बनाउन विशेष ध्यान दिइएको प्रकोप नियन्त्रण विभागले जनाएको छ । यो वर्ष गर्मी सुरु भए यता गर्मी सम्बन्धित बिमारको कारण २३ जनाले ज्यान गुमाइसकेको र ज्यान गुमाउनेहरूमा कृषि क्षेत्रमा काम गर्ने उमेर बढी भएका बुढापाका रहेका र अस्पतालमा बिरामीहरूको संख्या पनि बढेको विभागले जानकारी दिएको छ । यसैबीच दक्षिण कोरियाका श्रममन्त्री ली जंग सिकले मंगलबार आपतकालीन बैठक पनि बोलाएर गर्मी सम्बन्धी रोगहरूको तत्काल जोखिम भएमा सबै काम स्थगित गर्न रोजगारदाताहरूलाई आग्रह गरेका छन् । हालको कानूनले औद्योगिक दुर्घटनाको जोखिम हुँदा रोजगारदाताले कर्मचारीलाई कार्यस्थलमा काममा लगाउन नहुने व्यवस्था छ ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस