२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

मेलम्चीको बाढीले बगायो सरस्वती स्कुलको भवन

हेलम्बु । अविरल वर्षाका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलाले बगाएको छ। सरस्वती मावि शुक्रबार बिहानदेखि नै बाढीको उच्च जोखिममा थियो। बाढीले बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो।

जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइसकेका थिए। दिनभरि मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन बगेको हो।

यो स्कुल जिल्लाको पुरानो र प्रतिष्ठित मानिन्छ। बाढीका कारण मेलम्ची–हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन्। मेलम्चीको बहाव कम नभएकाले सबैलाई सतर्क रहन वडाध्यक्ष बुद्धिमान तामाङले आग्रह गर्नुभएको छ । मेलम्चीको बाढीले हेलम्बु गाउँपालिका–४ ग्याल्थुमका चार घर पनि उच्च जोखिममा परेका छन्।

शुक्रबार बिहानैदेखि मेलम्चीले कटान सुरू गरेपछि भरतबहादुर कार्की, मुक्तिनाथ लामिछाने, छविरमन लामिछाने र सुरेश तामाङका घर उच्च जोखिममा परेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । बाढी आएपछि ग्याल्थुम बस्तीका स्थानीयहरू टहरामा सरेका छन्। यसअघि ०७८ मा मेलम्चीमा आएको बाढी बस्तीमा पसेपछि सरकारले सुरक्षित स्थानमा टहरा बनाइदिएको थियो। टहरा बनाए पनि ३०–३५ परिवार बस्तीमै बसिरहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस