२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

होटलको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक जना गम्भीर घाइते

electric shock in hotel swimming pool

काठमाडौं । ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते हुनुभएको छ । शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते हुनुभएको हो ।

श्रीमती र छोरीसहित शाक्य होटलमा जानुभएको थियो । आधा घन्टा परिवार पौडिइरहेका बेला चस्मामा बाफ जम्यो भनेर आमा, छोरी निस्किएका बेला उहाँलाई करेन्ट लागेको शाक्यको परिवारले जनाएको छ । गम्भीर घाइते शाक्यकी बहिनी सुस्मिताका अनुसार, हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान गरिएको पाइएको छ ।

‘होटल खुलेको पनि धेरै भएको थिएन, यसका सञ्चालकहरुले गरेको लापरबाहीले गर्दा दाइ गम्भीर घाइते हुनुभयो’, उहाँले भन्नुभयो, ‘मेडिसिटी अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’ जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहका अनुसार, प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का गरेको छ ।

‘करेन्ट कसरी लाग्यो भन्नेबारे चाहिँ अनुसन्धान भइरहेको छ, इञ्जिनियरहरुसहितको टोली गएर पनि हेर्ने तयारी गरेका छौं’, उहाँले भन्नुभयो, ‘चिकित्सकहरूको रिपोर्टबाट पनि के कारण हो भन्ने यकिन होला ।’ गम्भीर घाइते भएका शाक्यको परिवारका सदस्यहरुले भने चिकित्सकले ‘इलेक्ट्रिक सक’ लागेको देखिएको दावी गर्नुभएको छ ।

होटल सञ्चालक रोमी अर्याल देवकोटाले भने स्वीमिङ पुलमा कुनै लिकेज वा करेन्टको फ्लो नभएको दाबी गर्नुभयो । ‘हरेक दिन परीक्षण पनि गरिरहेका हुन्छौं, विद्युतको फ्लो भएको देखिँदैन’, उहाँले भन्नुभयो, ‘अरु प्रहरीको अनुसन्धानबाट देखिएला ।’

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस