२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदालतको आदेशपछि सांसद अनिरुद्ध सिंह यादवलाई पुर्पक्षका लागि थुनामा पठाइयो

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो ।

सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो । बोदेबर्साइन नगरपालिका ५ बस्ने यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो । वि.सं. २०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा गोली प्रहार गरी हत्या भएको थियो ।

मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिनुभएको थियो । जाहिरीपरेपछि यादव फरार थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरि मुल्तवीमा राखि अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचिमा थिए र प्रत्यक्ष चुनाव लडेर जित्दा समेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन । अहिले भने पक्राउ गरेर त्यो बेलाको अदालतको अरु वादीहरुको फैसला बमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस