२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरु, सहमतिको प्रयासले दुई दिन लम्बियो

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो । रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार हुनुभएको छ । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिनुहुन्छ । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेको देख्न सकिन्छ । उहाँहरु पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा होमिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सर्वसम्मतबाटै नेतृत्व चयन गर्न निर्देशन दिनुभएको थियो । शनिबार र आइतबार सहमतिको प्रयास गरे पनि नेताहरु सफल नभएपछि मत नै हाल्ने निर्णयमा पुग्नुपर्यो । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन सहमतिको प्रयास असफल हुँदा दुई दिन लम्बिइसकेको छ । लुम्बिनी प्रदेश कमिटीको सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसक्नुभएको छ । उहाँहरु अध्यक्षका प्रत्यासीद्वय कँडेल र रिजाल दुवै पक्षको समूहमा हुनुहुन्थ्यो ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली उम्मेदवार हुनुहुन्छ । श्रेष्ठ कँडेल पक्षका र बराल रिजाल पक्षको प्यानलमा हुनुहुन्छ भने, विश्वकर्मा र वलीले प्यानल बाहिरबाट उम्मेदवारी दिनुभएको छ । सचिवमा निर्विरोध चुनिनुभएका दाङका लक्ष्मण आचार्य कंडेल र रिजाल दुवै प्यानलका उम्मेदवार बन्नुभएको थियो । तर उहाँको समर्थन कंडेल पक्षलाई देखिएको छ । उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगर प्रतिस्पर्धामा हुनुहुन्छ । चौधरी र राना कंडेल प्यानलका हुनुहुन्छ भने, बुढामगर र अधिकारी रिजाल प्यानलका हुनुहुन्छ । २०० जना सदस्यका लागि ३०५ जनाले उम्मेदवारी दिनुभएको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस