२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पत्रकारको प्रतिष्ठा धुमिल्याएको प्रति खोटाङका पत्रकारको गम्भीर आपत्ति

Khotang journalist statement

काठमाडौं । खोटाङमा पत्रकारिताको नाममा प्रतिष्ठा आँच आउने कार्य भइरहेकोप्रति पत्रकारहरुले आपत्ति जनाउनुभएको छ । पत्रकारिता सिङ्गो समाजलाई मार्गदर्शन गर्ने पेशा भएपनि खोटाङमा पत्रकारले नै पत्रकार आचारसंहिता २०७६ लाई लत्याएकोप्रति सञ्चार सम्वद्ध संघ/संगठनहरुले दुःख व्यक्त गरेका हुन् । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर नेपाल खोटाङका अध्यक्षहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पत्रकारहरु हरेक ठाउँमा जिम्मेवार तरिकाले प्रस्तुत हुनुपर्ने हो तर त्यो भएको छैन ।

विज्ञप्ति
नेपाली पत्रकारिताको इतिहासमा विभिन्न कालखण्डमा सञ्चार माध्यममार्फत थुप्रै परिवर्तन भएका उदाहरणहरु छन् । मूलुकमा बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्र स्थापनाका निम्ति नेपाली पत्रकारिताको योगदान महत्वपूर्ण छ । तर, पछिल्लो समय पत्रकारिताको मूल्यमान्यता र आचारसंहितासमेतको ख्याल नगरी पत्रकारको आवरणमा समाजमा अफवाह फैल्याउने कार्यहरु भइरहेका छन् । अर्कातर्फ सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, भ्रम छर्ने र समाजलाई ‘मिसलिड’ गर्ने प्रवृत्ति मौलाइरहेको छ। सामाजिक सञ्जालमा पोष्ट भएका स्टाटसहरुको सत्यतथ्य नबुझी धारणा बनाउँदा गलत सोच तथा विचारको विकास भइरहेको छ । त्यसकारण सामाजिक सञ्जालमा जिम्मेवार र जवाफदेही तरिकाले आफ्ना विचार र धारणाहरु राख्नु सबै नागरिकको दायित्व हो ।

यसै सन्दर्भमा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका मनोज गिरीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, अरुको मानमर्दन गर्ने, खेदो गर्ने, ‘म पत्रकार हुँ’ भन्दै सर्वसाधारणदेखि सार्वजनिक निकायलाई थर्काउने, गालीगलौज गर्ने र अनुमतिबिना टेलिफोन सम्वाद रेकर्ड गरी फेसबुकमा राख्ने गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गिरीले खोटाङमा ‘म मात्रै पत्रकार हुँ, सबथोक मै हुँ, म मात्रै जान्ने छु, अरु सबै गलत हुन्’ भन्ने शैलीमा सिङ्गो पत्रकारितामाथि धावा बोलेको छर्लङ्ग छ । तत्काल प्रतिक्रिया जनाउँदा दोहोरी खेलेजस्तो देखिने र चुप बस्दा पनि गिरीले लगाएको आक्षेप स्वीकार गरेजस्तो देखिने भएपछि हामी आफ्नो धारणा सार्वजनिक गर्न बाध्य भएका छौं ।

पत्रकारिता सिङ्गो समाजलाई मार्गदर्शन गर्ने पेशा हो । यस क्षेत्रमा काम गर्ने पत्रकारहरु हरेक ठाउँमा जिम्मेवार तरिकाले प्रस्तुत हुनुपर्दछ । पत्रकारले पत्रकार आचारसंहिता २०७६ लाई कहिल्यै बिर्सन हुन्न । तर, किर्ते जालसाजी मुद्धामा सम्मानित जिल्ला अदालत खोटाङबाट २०७९ माघ १९ गते दोषी ठहर भइ २० दिन कैद र तीन हजार जरिवाना सजाय भोगिसकेका गिरीले पत्रकार आचारसंहिता, मूल्यमान्यता र सिद्धान्तलाई कुल्चिएको प्रति हाम्रो आपत्ति छ ।
विचार अभिव्यक्ति गर्ने स्वतन्त्रता सबैलाई छ । तर, आफ्नो अभिव्यक्ति प्रकट गर्दा अरुलाई पर्ने असरका बारेमा सचेत हुनुपर्दछ । पत्रकार आचारसंहिताको पालना गरेर समाचार लेखेर सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण गरेमात्र पत्रकार बन्न सकिन्छ । अरुलाई गाली बेइज्जती गर्ने, आतङ्क फैलाउन खोज्ने, धम्की दिने प्रवृत्ति किमार्थ पत्रकारिताको मूल्य र मान्यताभित्र नपर्ने स्पष्ट गराउन चाहन्छौं । अन्त्यमा आम समुदायलाई भ्रमको पछाडि नलाग्न, फेसबुकमा लेखेको स्टाटसलाई हेरेर धारणा बनाउनुभन्दा आधिकारिक सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण भएका सूचनामा भर पर्न सबैमा आव्हान गर्दछौं ।

बोधार्थ :
नेपाल पत्रकार महासंघको कार्यालय कोशी प्रदेश विराटनगर । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तिलगंगा, काठमाडौं ।
दिलीप खत्री
अध्यक्ष, नेपाल पत्रकार महासंघ खोटाङ
सीताराम राई ‘सञ्जिव’ अध्यक्ष, प्रेस चौतारी नेपाल, खोटाङ
उत्तम चौलागाईं अध्यक्ष, नेपाल प्रेस युनियन, खोटाङ

समधन राई अध्यक्ष, प्रेस सेन्टर नेपाल, खोटाङ
२०८०/०५/२०

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस