२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीमा मध्यावधि चुनाव छल्न सबै मिलौं भन्दै हिक्मतद्वारा सर्वदलीय सरकार गठनको आह्वान

काठमाडौं । कोशी प्रदेशसभामा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सबै राजनीतिक दलहरू मिलेर कोशी प्रदेशमा सर्वदलीय सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सर्वोच्च अदालतले कोशी प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । सर्वोच्चको परमादेशपछि विराटनगरबाट कार्कीले भन्नुभयो, अब राजनीतिक दलहरूबीचमा देखिएका अविश्वासका कुरा संवादबाट हल गर्नुपर्ने र प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि सबै दलहरू मिल्नुपर्ने भयो ।

सबै दलको सरकार बनाएर जाऔं । कांग्रेस, माओवादी केन्द्र, राप्रपा मिलेर जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । यसलाई आत्मसात् गरेर जाऔं, उहाँले भन्नुभयो, एमाले गठबन्धनका लागि तयार छ । कोशी प्रदेशमा सबै दलहरूसँग सहकार्य गरी सरकार गठन गर्नका लागि एमाले पार्टी केन्द्रको पनि सुझाव छ । मध्यावधि निर्वाचन चाहना र माग पनि होइन । मध्यावधि चुनाव ननिम्त्याउन सबै मिलेर जानुको विकल्प छैन ।

कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले संविधान र कानून मिचेको कुरालाई सर्वोच्च अदालतले सच्याइदिएको पनि कार्कीको भनाइ छ । उहाँले सर्वोच्चको फैसलालाई संविधान र कानून मिच्ने राजनीतिक दलहरूका लागि सबक भएको बताउनुभयो । न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीले दिएको फैसलापछि कार्कीले भन्नुभयो, यो फैसला स्वागतयोग्य छ । राजनीति दलहरूले कहिलेकाहीँ जानेर वा नजानेर संविधान, कानूनलाई मिच्ने काम गरेका हुन्छन् । त्यसलाई सबक हुने गरी फैसला आएको छ । सर्वोच्चले उद्धव थापालाई पद मुक्त गर्दै ४८ घण्टाभित्र हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस