२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटनगरको राधाकृष्ण रथयात्रा आज, भारतबाट समेत लाखौं हिन्दु भक्तजन सहभागी हुने

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो ।

विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुने आयोजक समितिले जनाएको छ । वि.सं. १९८८ मा मन्दिरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिँदै आएको छ । रथयात्रासँगै खटयात्रा पनि गराइनेछ । रथयात्रामा नेपाल र भारतका भक्तजनसँगै विभिन्न नगरका प्रमुख पनि सहभागी हुनेछन् । रथयात्रामा सहभागी हुन नेपालका विभिन्न जिल्लााका १३ वटा पालिकाका प्रमुखहरु विराटनगर आइसक्नुभएको छ ।

आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । रथयात्राको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयो । अत्यधिक जनसहभागिता हुने रथयात्रामा प्रहरीले सुरक्षा सतर्कता पनि अपनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले सम्भावित जोखिम नियन्त्रणका लागि सतर्कता अपनाइएको बताउनुभयो । भिडभाडमा आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारीलगायतका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस