२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

सेयर बजारमा एनआरएनको लगानी खोल्न सिफारिस, तर राखियो शर्त

Investment of NRN in share market

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको धितोपत्रमा लगानी खुला गर्नुपर्ने सुझाव एक अध्ययनले दिएको छ । धितोपत्र बोर्डले गरेको एक अध्ययनले यस्तो सुझाव दिएको हो । तर १० लाखभन्दा बढी नाफा फिर्ता लैजान नपाउने गरी शर्त राख्नुपर्ने भनिएको छ । गैरआवासीय नेपालीले नेपाली बैंकमा डलर खाता खोलेर त्यहाँ पठाएको रेमिट्यान्सको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव समितिले दिएको हो ।

त्यसरी रेमिट्यान्सका रुपमा ल्याएर धितोपत्रमा लगानी गरेको सम्पूर्ण रकम फिर्ता लैजान दिनुपर्ने तर नेपालमा त्यसरी लगानी गरेर कमाएको नाफा वा पाएको लाभांशबाट भने वर्षमा १० लाख रुपैयाँ भन्दा बढी फिर्ता लैजान नपाउने गरी सेयर बजारमा लगानीको बाटो खोल्नुपर्ने सुझाव समितिको छ । धितापत्र बोर्डले सञ्चालक समिति सदस्य सुजनकुमार काफ्लेको संयोजकत्वमा अर्का सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक दीपा दाहाल रहेको अध्ययन समिति गठन गरेको थियो । समितिले गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रमा लगानी खुला गर्न यी लगायत अन्य कानूनी सुधारको सुझाव पनि प्रस्तुत गरेको हो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस