२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कनिष्टको सेटिङमा सुन अत्याधिक आएको भेटियो, ठूला कर्मचारी र नेताको संलग्नता छैन – सीआईबी

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । २ साउनमा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ ।

सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् । बिहीबारमात्रै बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका छन् । उनीमाथि तस्करीको सुन बिक्री वितरण गर्ने र भारतसमेत पठाउने गरेको खुलेको छ । यसअघि राजस्व अनुसन्धान विभागको टोलीले १८ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाएको थियो । सुन तस्करी प्रकरणमा हालसम्म तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ, याहो पेचिङसहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

६१ किलो सुनका मालिकमध्ये याहो पेचिङ प्रमुख रहेको अनुसन्धानबाट खुलेको छ । उनी ठूलो मात्रामा सुनसहित यसअघि भारतमा समेत पक्राउ परेको खुलेको छ । उनीहरूबाहेक एकजना तिब्बती मूलका भारतीय नागरिक र विमानस्थल भन्सार कार्यालयका कर्मचारीसहित २७ जना पक्राउ परेका हुन् । सुन तस्करी प्रकरण उच्चतहका कर्मचारी तथा राज्यका उपल्लो तहमा पुगेका मानिसको संलग्नताबिनै ठूलो मात्रामा सुन तस्करी भएको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताउनुभयो । “यो समूहले ठूलो मात्रामा सुन तस्करी गरेको देखिन्छ । अनुसन्धानमा भन्सार कार्यालयका तल्लो तहका कर्मचारीसँगको सेटिङमा सुन तस्करी भएको देखिन्छ । पक्राउ परेकाहरूको मोबाइलबाट यो सुन प्रकरणमा नेता र अन्य ठूला कर्मचारीको भूमिका देखिँदैन,” ती अधिकारीले भन्नुभयो ।

हाललाई सुन प्रकरणको पूरक अनुसन्धान गर्न मिल्ने गरेर अनुसन्धान प्रतिवेदन आगामी मंगलबारसम्म बुझाउने तयारी सीआईबीको छ । सुन तस्करीको अनुसन्धान सीआईबीले संगठित अपराध मुद्दा चलाएर गरेको थियो । संगठित अपराधको अनुसन्धान प्रहरीलाई ६० दिन थुनामा राखेर गर्न मिल्ने कानूनी व्यवस्था छ । मंगलबार तस्करी प्रकरणमा अनसन्धान सुरु भएको ५६ दिन पुग्छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस