२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको क्रिकेटलाई विश्व नम्बर वान बनाउन क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काको नजर अब केन्द्रीय निर्वाचनतिर लागेको छ । आउँदो ५ र ६ असोजमा हुने क्यानको केन्द्रीय अधिवेशनमा पारसले सचिव पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गर्नुभएको छ । नेपालमा साँच्चै सहासी र मेहनती छोरा–छोरी रहेको र यहाँको हावापानी समेत उत्कृष्ट रहेकाले क्रिकेट खेललाई विश्व नम्बर वान बनाउँन सकिन्छ । यसका लागि म नेतृत्वमा पुग्न चाहान्छु एक आन्तरिक बसाइमा पारसले भनेका थिए ।

क्यानको विधानअनुसार प्रदेश वा जिल्लाको पदाधिकारीले केन्द्रीय कार्यसमिति र पदाधिकारीमा पनि चुनाव लड्न रोकटोक छैन । त्यसैले बाग्मतीको अध्यक्ष हुँदा हुँदै पारसले केन्द्रमा पनि जुनसुकै पदमा लड्न सक्छन् । उनलाई धेरैले केन्द्रीय अध्यक्षकै आकांक्षीका रूपमा समेत हेरेका छन् । तर, निकट स्रोतका अनुसार पारस यसपालि अध्यक्षमा लड्ने छैनन् । अर्कोपालि क्यानको नेतृत्व लिने मार्गचित्रसहित यसपटक सचिवमा लड्ने मनस्थिति बनाएको स्रोतको भनाइ छ ।

हालका अध्यक्ष चतुरबहादुर चन्दले पुन क्यानमा दोहोरिने चाहना व्यक्त गरेका छन् । क्यानको जिल्ला र प्रदेश संरचनामा चन्दको बलियो पकड पनि छ । त्यसैले पारसले उनीसँग जुध्नेभन्दा अहिले मिलेर जाने रणनीति लिएका हुन् । चतुरबहादुरलाई आफूले खेल रणनीति सेयर गर्ने र चतुरबहादुरबाट प्रशासनिक तौर तरिकाको थप जानकारी लिएर अर्को पटक नेतृत्वमा जाने पारसको लक्ष्य छ ।

स्रोतले भन्यो, ‘उहाँले अन्तिम कार्यकालका लागि अध्यक्षमा चन्दलाई नै समर्थन गर्नुहुन्छ । चन्द अध्यक्ष र पारस सचिव हुने गरी प्यानल उम्मेदवारी दिने तयारी छ ।’ क्यानमा अध्यक्षपछिको प्रभावकारी पदका रुपमा सचिव (सक्रेटरी) लाई लिइन्छ । सचिवले प्रवक्ताको भूमिका पनि पाउँछन् । ४ वर्ष बागमती अध्यक्ष र केन्द्रीय सचिवको ओहदामा रहेर क्रिकेट राजनीतिमा भिजिसकेपछि पारसले अर्को कार्यकालमा अध्यक्ष बन्ने उनको योजना हो । यद्यपि, उनले आधिकारिक घोषणा गरिसकेका छैनन् । साथीभाइहरूसँग सल्लाह गरेर निर्णय लिने बताउँदै आएका छन् ।

क्यानको केन्द्रीय चुनावमा अध्यक्षका लागि चतुरबाहेक अर्को आकांक्षी अहिलेसम्म देखिएको छैन । अलिअघि हालका कोषाध्यक्ष रोशन सिंहले चाहना देखाएका थिए । आन्तरिक तयारी पनि गरेका थिए । तर, अहिले उनी ‘ब्याक’ भएका छन् । कार्यसमितिमा सम्मानजनक स्थान पाएमा अध्यक्ष चन्दलाई नै समर्थन गर्ने उनको पनि रणनीति छ । पारस र सिंह दुवैको समर्थन पाउँदा चन्द क्यानको अध्यक्षमा पुनः निर्वाचित बन्ने सम्भावना बलियो बन्छ । सातमध्ये ५ वटा प्रदेशको समर्थन चतुर–पारसलाई हुनेछ । सुदुरपश्चिम र कर्णाली प्रदेशले चन्दलाई समर्थन गरेका छन् । कोशी, गण्डकी र बागमतीको पनि ठूलो हिस्साको भोट आउने अपेक्षा चतुर–पारस पक्षलाई छ । कुल ८५ जना मतदातामध्ये ५० देखि ५५ मत जित्ने आँकलन चतुरले गरेका छन् ।

यता राजनीतिक नेतृत्व पनि उनलाई दोहोर्याउने पक्षमा रहेको बुझिन्छ । चन्द कांग्रेस नेता पनि हुन् । कोरोनाका कारण चार वर्षको कार्यकालमा राम्ररी काम गर्न नपाएकाले उनलाई फेरि मौका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक रहेको बताइन्छ । क्यानको चुनावमा प्रत्येक जिल्लाबाट आउने एक–एक प्रतिनिधि, प्रदेशहरूले मातहतका जिल्लाको संख्याभन्दा आधा संख्यामा पठाउने प्रतिनिधि, हालको केन्द्रीय समितिका सबै सदस्य, अम्पायर संघका एक प्रतिनिधि र प्रशिक्षक संघका एक प्रतिनिधिले भोट हाल्न सक्छन् । अम्पायर र प्रशिक्षक संघका प्रतिनिधिलाई चुनाव लड्ने अधिकार भने हुँदैन । तर, केन्द्रीय कार्यसमितिका सदस्यले चाहेमा फेरि कुनै पदमा लड्न सक्छन् ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस