२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपचार खर्च अभाव हुँदा खोटाङकी १७ वर्षीया हेमा अस्ताइन्

काठमाडौं । उपचार खर्च अभाव हुँदा खोटाङकी १७ वर्षीया हेमा राईको मृत्यु भएको छ । बिरामी भएकी हेमालाई दुई वर्ष अगाडि परिवारले अस्पताल लादा एउटा मिर्गौला फेल भएको रिपोर्ट आएको थियो । पछि उहाँको दुवै मिर्गौला फेल भएपछि बिहिबार निधन भएको हो ।

दुई वर्ष अगाडि एउटा मिर्गौला फेल भएको थाहा भएपछि अस्पतालले परिवारलाई उपचारका लागि आर्थिक संकलन गर्न सुझाव दिएको थियो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडा घर भइ हाल भक्तपुर बस्दै आउनुभएकी हेमाको परिवारले आर्थिक संकलन गर्न सकेनन् । बुवा ओम बहादुर र आमा तुलसाले उपचारका लागि रकम संकलन गर्न नसक्दा अन्ततः छोरी हेमा यो लोकबाट बिदा हुनुभयो ।

कक्षा ९ मा अध्ययन गरिरहनुभएकी हेमा एउटा मृगौला फेल भएपछि पुनः विद्यालय जान सक्नुभएन । सामान्य औषधि खाएर घरमै बसिरहेकी हेमाको अर्को पनि मिर्गौला फेल भयो । परिवारले उपचार खर्च जुटाउन नसक्दा मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोरहुँदा १७ वर्षीया हेमाले अकालमै ज्यान गुमानु परेको छ ।

परिवारले खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरिएको भए पनि हेमालाई बचाउन सकिने थियो । तर चेतनाको अभावले परिवारले सहयोगको याचना नगरेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राई बताउनुहुन्छ । ‘उहाँहरु करीब १२÷१३ वर्ष अगाडिदेखि भक्तपुरमा बस्दै आउनुभएको थियो । छोरीको मिर्गौलामा समस्या भएको छ भन्ने सामान्य सुनेका थियौँ । तर मिर्गौला फेल भएर उपचार गर्ने खर्च नै अभाव भयो भन्ने कुरा हामीलाई थाहा भएन । नत्र सहयोग संकलन गरेर बचाउन सकिन्थ्यो ।’ वडाध्यक्ष राईले भन्नुभयो, ‘अन्तिम अवस्थामा मात्रै हामीलाई थाहा भयो, जुन बेला हेमालाई बचाउन सक्ने अवस्था नै रहेनछ ।’

दुई वर्षको अन्तरालमा दुवै मिर्गौलाले काम गर्न छाडेपछि मिर्गौला प्रत्यारोपण गर्नु पर्ने थियो । तर आवश्यक रकम नहुँदा हेमाले १७ वर्षमै ज्यान गुमाउनु परेको छ । दुवै मिर्गौलाले काम गर्न छाडेर सिकिस्त भएकी हेमालाई परिवारले मंगलबार काठमाडौं मेडिकल कलेजमा भर्ना गरेको थियो । अस्पताल भर्ना भएको तीन दिनमा बिहिबार दिउँसो उहाँको निधन भएको छ ।

मृतक हेमाको दुई भाइहरु हुनुहुन्छ । बुवा ओम बहादुर र आमा तुलसा दैनिक ज्यालादारी मजदुर हुनुहुन्थ्यो । केही वर्ष अगाडि ओम बहादुर बैदेशिक रोजगारीको शिलशिलामा बिदेश समेत जानुभएको थियो । तर कमाइ राम्रो नभएपछि नेपाल फर्किनुभयो । भक्तपुरमा डेरामा बस्दै आउनुभएका ओमबहादुरको बाहुनीडाँडामा सामान्य बाँझो जग्गा छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस