२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु, ४२ यात्रु लिएर थिम्पु उड्यो ड्रुक एयर

काठमाडौं । सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ। शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिनुभयो । विमानमा चालक दलका तीनजना सदस्यसहित ४२ जना सवार छन्।

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६ः४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८ः१५ मा थिम्पु फर्किएको हो। यसअघि गएको असार ६ गते चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। त्यतिबेला चीनबाट चार्टर्ड गरेर आएको सो विमान यताबाट भने यात्रु नलिइ रित्तै फर्किएको थियो।

विमानस्थलका प्रमुख कर्णले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल भइरहेको जानकारी दिनुभयो । गएको पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्न सकिनेगरी पूर्वाधारको विकास गरिएको छ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस