२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

माराकेश केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प, ६३२ जनाको मृत्यु

काठमाडौं । मोरोक्कोमा शक्तिशाली भूकम्प जाँदा ६३२ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्नेच्युडको भूकम्प जाँदा ६३२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ। यस्तै घाइते हुनेको संख्या ३२९ पुगेको छ।

पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। धेरैजस्तो मानवीय क्षति माराकेश शहरमा भएपनि अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महशुस भएको थियो। मोरोक्कन सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ। घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो।

भूकम्पबाट क्षतिग्रस्त ठाउँमा उद्धार टोली खटिएको छ। यद्यपि भूकम्पले थुप्रै भवन, सडकहरू भत्किएको र अवरूद्ध भएकाले पनि उद्धार गर्न समस्या भइरहेको सिएनएनले जनाएको छ। माराकेशका ऐतिहासिक पर्खालहरूमा पनि क्षति पुगेको छ। शक्तिशाली भूकम्पपछि संयुक्त राष्ट्रसंघले मोरोक्कन सरकारलाई सहयोग गर्न तयार भएको घोषणा गरेको छ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस