२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले उपाध्यक्ष संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ । पूर्वसभामुख, संविधान सभाका अध्यक्ष समेत नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आउनुभएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा उहाँ केही समय जेल बस्नुभयो ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बन्नुभयो । २०५६ को निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आउनुभएको थियो । उहाँ जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बन्नुभयो । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भन्नुभयो । चारपल्ट सभामुख बन्दा उहाँ सधैं सर्वसम्मत हुनुभएको थियो । उहाँ बरिष्ठ अधिवक्तासँगै नेपाली राजनीतिमा होमिनुभएको थियो ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस