२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक महिनामा नेपाल भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, २६ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०७९–८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । साउनमा आएको रेमिट्यान्स अहिलेसम्म कुनै पनि महिनामा भित्रिएको सबैभन्दा बढी रेमिट्यान्स हो । साउनमा ८७ करोड ९८ लाख अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको हो ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा पनि नेपाली रुपैयाँमा रेमिट्यान्सको वृद्धि धेरै देखिएको हो । यसअघि २०७९ फागुनमा १ खर्ब ९ अर्ब रेमिट्यान्स आएको थियो । कोभिड–१९ महामारीमा भएको लकडाउनसँगै केही महिना घटेको रेमिट्यान्स पहिलो पटक २०७७ असारमा १ खर्ब नाघेको थियो । पछिल्लो ९ महिनादेखि भने लगातार १ खर्बभन्दा बढी रेमिट्यान्स आइरहेको छ । कोभिडपछि गएको दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा त्यसको प्रभाव रेमिट्यान्समा देखिएकोहो । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छ ।

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३९ हजार १५२ रहेको राष्ट्र बैंक्ले जनाएको छ । जुन गत आर्थिक वर्षको साउनको तुलनामा १२.१ प्रतिशतले हो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १९.५ प्रतिशतले घटेको छ । साउनमा वैदेशिक रोजगारीक लागि १६ हजार ४२३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस