२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा पहिलो पटक हाइड्रोजनबाट बल्यो चुलो

काठमाडौं । घरमा खाना पकाउने इन्धनको रुपमा हाइड्रोजनको प्रयोग गर्न नेपाल सफल भएको छ । नेपाल, बेलायत र स्वीट्जरल्याण्डका एक दर्जनभन्दा बढी वैज्ञानिकहरुले १८ महिनादेखि गरिरहेको प्रयोग आइतबार सफल भएको काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको छ । नयाँ ढंगबाट डिजाइन गरिएको चुलोमा हाइड्रोजन इन्धन प्रयोग गरेर ७ मिनेटमा खाजा पकाइएको विश्वविद्यालयका हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले जानकारी दिनुभयो ।

नेपाल इनर्जी फाउण्डेसनको नेतृत्वमा सुरु भएको पाइलट परियोजना काठमाडौं विश्वविद्यालय, बेलायतको इनर्जी क्याटलिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्वीट्जरल्याण्डको सहयोगमा आइतबार सफल परीक्षण भएको उहाँको भनाइ छ । ‘नेपालमा डेढ वर्षदेखि भइरहेको अध्यायनले हाइड्रोजन इन्धनको प्रयोगमा ‘ब्रेक थ्रु’ भएको छ ।

सम्भवतः हामी पहिलो पटक नेपालमा हाइड्रोजन स्टोभ बनाउन पनि सफल भएका छौं’ थापाले भन्नुभयो, ‘नेपालमा अथाह सम्भावना भएको हाइड्रोजन अब घरमै खाना पकाउने ग्याँसको विकल्पमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन अध्ययन सफल भएको छ ।’ डा. थापाकाअनुसार आइतबार विश्वविद्यालयका उपकुलपति र परियोजनाका अधिकारीहरु एवम् दर्जन वैज्ञानिकहरु सहभागी कार्यक्रममा ५ प्याकेट चाउचाउ परीक्षणको रुपमा पकाइएको थियो । हाइड्रोजन इन्धनको चुल्होमा पहिले कराही बसालेर पानी हालिएको थियो भने त्यसमा पछि चाउचाउ राखिएको थियो । उक्त चाउचाउ ७ मिनेटमा पाकेको थापाले बताउनुभयो ।

‘नेपालमा हाइड्रोजनबाट खाना पकाउन सकिन्न कि भन्ने यसअघिको भाष्य अब बदलिएको छ, यो नयाँ इतिहास हो’ थापा भन्नुहुन्छ, ‘हाइड्रोजन भान्सामा प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित भयो अब यसको व्यावसायिक मूल्य शृङ्‍खला बनाउन लगानी र थप अनुसन्धानको आवश्यकता छ ।’ नेपालमा ग्रीन हाइड्रोजन ऊर्जालाई घरायसी ऊर्जामा रुपान्तरण गर्न गरिरहेको काम एक कदम अघि बढेको नेपाल इनर्जी फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेले नेपालको भान्सामा हाइड्रोजनबाट खाना पकाउने व्यावसायिक कामका लागि ठूलो खुड्किलो पार भएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस