२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तस्बिरमा हेर्नुहोस् सरकारको द्रुत बस सेवा, थप यी रुटमापनि चलाउने मन्त्रीको उद्घोष

काठमाडौं, असोज ३ गते । सरकारले सञ्चालन गरेको द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायक रुटमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा सुरु गर्दै रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सीमित नरहने बताउनुभएको छ । बुधबार संविधान दिवसको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्नुहुँदै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगन्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

यातायातमन्त्री ज्वालाले बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरूको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरूको सहजताका लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्भ गरिएको जानकारी दिनुभयो । उहाँले द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने भनाइ राख्नुभयो । उहाँले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ सुरु गरेको छ त्यही उत्साह निरन्तर रूपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडि बढाउने बताउनुभयो । यातायातमन्त्री ज्वालाले बस सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनैपनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले बस सेवालाई निरन्तरता र विस्तार दुवै गर्ने बताउनुभयो ।

‘‘राजधानीको केन्द्रबिन्दुमा रहेको सिंहदरबार लगायतका स्थानहरूमा बिहानको समयमा यात्रुहरू धेरै आउन र बेलुका जाने समयमा यातायातको ठुलो आवश्यकता पर्ने र ट्राफिक चाप पर्ने अवस्थालाई ध्यानमा राख्दै बिहान दुई र बेलुका दुई घण्टा द्रुत बस सञ्चालन गर्ने निष्कर्षमा पुग्यौँ । रत्नपार्कदेखि सूर्यविनायकसम्म मात्रै यो बस सेवा सीमित हुँदैन । सरकारले यसलाई विस्तार गर्दै लैजान्छौँ ।,’’ यातायातमन्त्री ज्वालाले भन्नुभयो, ‘‘ एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगन्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै विस्तार गर्दै जान्छौँ । सरकारले द्रुत बस सेवालाई विस्तार मात्रै नभएर निरन्तरताका कुरा पनि छ । त्यसैले आज जुन उत्साहका साथ द्रुत बसे सेवा सुरु गर्दैछौं त्यही उत्साह निरन्तर रूपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडि बढाउँछौँ । त्यसको अनुगमन र फ्लोअप गर्नेछौँ । कुनै पनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिबद्धता जनाउन चाहन्छु ।’’

सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने समय करिब दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्ने र अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्‍याउने योजना रहेको उहाँको भनाइ छ । उहाँले सरकार धेरै चुनौतीहरूका बीचमा काम गरिरहे पनि बस सेवा सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि विस्तार गर्दै जाने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘निरन्तरता र बिस्तार दुवै कुरा सरकारले गर्नेछ । मुख्य रूपमा सरकारले सञ्चालन गरेको द्रुत बसमा यात्रुहरूलाई कहाँ समस्या भयो, कहाँ ट्राफिक समस्या भयो । प्राविधिक समस्याहरू के–के परे र बस व्यवस्थापनमा अप्ठ्यारो भयो सबै कुराको फिडब्याक लिएर निरन्तर सुधार गर्दै जानेछौँ । सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने समय करिब दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्छौँ । अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्‍याउँछौँ । सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि विस्तार गर्दै जाने छौँ । अहिले सरकार धेरै चुनौतीहरूको बीचमा छौँ ।’’

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासङ्घले सार्वजनिक यातायातलाई छुट्टै लेनको व्यवस्था हुनुपर्छ भन्ने धेरै लामो समय देखिको माग आज सम्बोधन भएको बताउनुभयो । उहाँले सरकारले सार्वजनिक यातायातलाई पहिलो पटक एम्बुलेन्सको प्राथमिकतामा राखेर कामको स्वागत गर्ने बताउनुभयो । उहाँले द्रुत बस सेवा सरकारले दीर्घकालीन रूपमा सञ्चालन गर्नु आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालन दुई दिनको मिडिया बाजीका लागि मात्रै सीमितता राख्न नहुने बताउनुभयो ।

उद्घाटन पश्चात् द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका प्रमुखहरू चढेर यात्रा गर्नुभएको छ । यात्रुहरूका लागि भने असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुनेछ । अरू सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्न सक्नेछ । द्रुत सेवाका बसहरू रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट पाँचरपाँच मिनेटको फरकमा छुट्नेछन् । ती बसहरू रातो रङ्गले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरूमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस