२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बेलायतमा मनाइयो संविधान दिवस

लन्डन, असोज ४ गते । नेपालको संविधान दिवसको अवसरमा लन्डनस्थित नेपाली दूतावासले एक कार्यक्रमसहित राष्ट्रिय दिवस मनाएको छ ।

लन्डनस्थित नेपाली दूतावास परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त अधिराज्य(बेलायत) की विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानले नेपाल र बेलायतबिच पुरानो दौत्य सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबिच व्यापार, लगानी र जलवायु परिवर्तन जस्ता विश्वव्यापी सरोकारका विषयमा थप सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबिचको मैत्री सन्धि हस्ताक्षरको शताब्दी र बेलायती टोलीको नेतृत्वमा पहिलो सगरमाथा आरोहणको ७० औँ वार्षिकोत्सव नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका महत्त्वपूर्ण कोसेढुंगा रहेको बताउनु भयो । उहाँले दुई देशबिचको जनस्तरको सम्बन्ध बिस्तारमा गोर्खाहरूले गरेको योगदानको चर्चा गर्नु भयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वर्तमान संविधानको विशेषता र नेपालको परराष्ट्र नीतिबारे जानकारी दिनु भएको थियो । पछिल्ला दशकमा नेपालले विभिन्न क्षेत्रमा गरेका प्रगतिबारे जानकारी दिँदै उहाँले अर्थतन्त्रको पुनर्संरचना र जनताको जीवनस्तर उकास्नेलगायतका संविधानका प्रमुख उद्देश्यहरू हासिल गर्न नेपाल सरकार केन्द्रित रहेको उल्लेख गर्नु भयो । विश्वभर संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानलगायत क्षेत्रीय सहयोग प्रवर्द्धन र विश्व शान्तिका लागि नेपालले पुर्याएको योगदानबारे उहाँले चर्चा गर्नु भएको थियो ।

राजदूत आचार्यले ब्रिटिस गोर्खाहरूको सम्बन्धको जगमा नेपाल र बेलायतबिच ऐतिहासिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै बेलायतमा नेपाली डायस्पोराको उपस्थिति बढ्दै उल्लेख गर्नु भयो । यो वर्ष सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकी रहेको बताउँदै राजदूत आचार्यले आधुनिक कूटनीतिक सम्बन्धमा नयाँ युगको सुरुवात गर्न सन्धिको महत्वलाई जोड दिनु भयो । कार्यक्रममा बेलायती ससदका सदस्यहरु, उच्च सरकारी अधिकारीहरू, बेलायतस्थित विभिन्न मुलुकका राजदूत तथा उच्चायुक्तहरु र बेलायतस्थित नेपाली समुदायका अगुवा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस