२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभिनेत्री उषाले रङ्गकर्मी अनुपमाथि लगाइन् गम्भीर आरोप : भनिन्, ‘१७ वर्षसम्म कुरा खोल्न सकिन, म कातर नै हो’

Anup Bara & Usha Rajak controversy

काठमाडौं । मोडल तथा अभिनेत्री उषा रजकले रङ्गकर्मी अनुप बरालमाथि विभिन्न गम्भीर आरोप लगाएकी छिन् । उषाले शुक्रवार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत अनुप बरालले राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई अनुबन्धित गराउने गरेको र अहिले पनि त्यही परिपाटी कायम रहेको आरोप लगाएकी छिन् । उनले आफू एक्टर्स स्टुडियोको पहिलो ब्याचको विद्यार्थी भएको बताउँदै गुरुबाट त्यस्तो अपेक्षा नगरिने बताउँदै कमसेकम आफूले जानेको गुरुको परिभाषा त्यस्तो नभएको गुनासो गरेकी छिन् ।

यस्तै, उनले कागबेनी फिल्मका लागि आफूले दिएको अडिसनको कुरा पनि कोट्याएकी छिन् । यसबारे उनले लेखेकी छिन्, ‘सन् २००६, एक्टर्स स्टुडियोको तालिम बज्र होटेलमा हुन्थ्यो । त्यहाँ भूषण दाहाल र टिम कास्टिङका लागि आएका थिए, पूजा गुरुङ, शिवानी सिंह थारु, दिया मास्के, म, आशा मग्राती थियौँ अडिसनमा । कुरा ‘कागबेनी’ नेपालको पहिलो डिजिटल फिल्मको । त्यो फिल्ममा निर्देशकको टिमबाट मुख्य पात्रमा कास्ट भएकी थिएँ रे । (यो कुरा फिल्मको दुई प्रमुख पाटोले भन्नु भएको मलाई) । तर रातारात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ ।’

त्यसपछि उनी लेख्छिन्, ‘त्यो दिन मैले गुरुको अर्कै रूप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ ।’ यसबारे उनी थप्छिन्, ‘यो कुराको न त मसँग प्रुफ छ, न त आज भूषण दाइले मान्नुहुनेछ कि उहाँले अनुप सरको दबाबमा आएर उहाँको कुरा मान्नु भयो । दाइको पहिलो फिल्म थियो, उहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे ।’ उषाले यसबारे अहिले आएर किन बोलेको त भनेर पनि स्पष्ट पारेकी छिन् । उनले भनिन्, ‘त्यति बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नुभएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ अथवा बुझ पचाएँ र खुरुक्क गएर चुपचाप गएर कक्षामा बसेँ । १७ वर्षसम्म यो कुरा सार्वजनिक रूपमा बोलिनँ, हो म अलिकति त कातर नै हो ।’

यस्तै उनले कास्टिङ काउच सबैतिर हुने कुरा स्वीकार गर्दै मन रुचेकोलाई रोल दिन पाइयो तर एक शिक्षालय खोलेर विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुभन्दा नेपोटिजम, फेभरोटिजम किन भनेर प्रश्न गरेकी छिन् । उनले एक्टर्स स्टुडियोका धेरै विद्यार्थीले यस्तो भनेको सुनेको तर बिरालोको घाँटीमा कसले घण्टी बाँध्ने भनेर कटाक्ष पनि गरेकी छिन् । उनी थप्छिन्, ‘अहिले पनि धेरै जसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझै पनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दूषित ठाउँमा । ठिकै छ, म पनि गएकी थिएँ आस लिएर, आँखा नखोलुन्जेल । ’

यस्तै उनले यति भन्दा कसैप्रति रिस नभएको पनि स्पष्ट पारिन् । ‘अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दिया आफैँमा सक्षम अभिनेत्री हुन् र यो संसार यस्तै हो,’ उनले लेखेकी छिन् । ‘अनि मै होला : कला अध्यात्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु । ’

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस