२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कर्फ्युसँगै मलङ्गवामा सुरक्षा व्यवस्था कडा

सर्लाही, असोज ५ गते । सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चित कालिन कर्फ्यु जारी गरिएको छ । गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने क्रममा मलङ्गवा नगरपालिका वडा नं. ३ मा दुई समुदायबिच झडप भई तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन नदिन कर्फ्यु लगाइएको जानकारी दिनुभयो ।

सिडिओ यादवका अनुसार अर्को आदेश नहुन्ज्यालसम्म कर्फ्यु जारी रहने छ । कर्फ्युसँगै सदरमुकाम मलङ्गवाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । शुक्रवार बिहानैबाट बजार क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।

सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले बिहीबार साँझको झडपमा केही मानिस घाइते भएका बताउनुभयो । अन्य घाइते प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर घाइते हुनुभएका मलङ्गवा नगरपालिका–७, बस्ने २३ वर्षीय रुपेश यादवको वीरगञ्जमा उपचार चलिरहेको छ ।

मलङ्गवास्थित शिव सागर चोक नजिकको पोखरीमा मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा भएको झडप नियन्त्रणका क्रममा नेपाल प्रहरीले पाँच शेल र सशस्त्र प्रहरीले तीन शेल अश्रुग्याँस प्रहार गरेको छ । दुई पक्षबिच ढुङ्गा मुढा हुन थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरी भीडलाई तितरबितर पारेको हो । झडपकै क्रममा एक घरमा गएको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । सदरमुकाम मलङ्गवामा यसअघि श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा पनि विवाद भइ कर्फ्यु र निषेधाज्ञा जारी गर्नुपरेको थियो । सामान्य बन्दै गइरहेको अवस्थामा बिहीबार साँझबाट पुनः माहौल बिग्रिएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस