२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सात बर्ष अघि टुटेको प्रेम जीवनका अन्तरंग तस्बिरका कारण पूर्व प्रेमीले आमा छोरी नै सिध्याए

५ असोज, दाङ । भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए । शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले रेवती र उनको छोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी नविन कार्कीले बताउनुभयो । प्रहरीका अनुसार हत्याको आरोपमा पक्राउ परेका कर्णबहादुर रेवतीका पूर्व प्रेमी हुन् । फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो । उनीहरुबीच चिनापरिचय हुँदा कर्ण बिबहित थिए भने रेवती अबिबहित । दुवैबीचको भेटघाटमा हुँदै गयो । त्यसक्रममा उनीहरुको अन्तरंग सम्बन्धपनि भयो । त्यो कार्यलाई उनीहरुले अश्लील फोटो र भिडियोहरु खिचेर राखेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यही फोटो र तस्बिरले आमा छोरी कै ज्यान गयो ।

त्यहीबीच ०७५ मा कर्ण रोजगारीका लागि दुबई गए । त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका २ झालेढुंगाका सुकलाल थापासँग बिबाह गरिन् । रेवतीको बिबाहलाई कर्णले ठुलो धोका ठानेर इगोको रुपमा लिए । तर पनि उनीहरुबीचको सम्पर्क टुटेन । ‘रेवतीको बिहेको २ वर्षपछि पनि दुवैबीच फोन र फेसबुकबाट कुराकानी हुन पुगेछ,’ डीएसपी कार्कीले भन्नुभयो, ‘२ वर्षपछि एक अर्काको सम्पर्कमा आएका दुवैबीच पुरानो प्रेम र शारीरिक सम्बन्धका क्रममा खिचेका अश्लील तस्वीर र भिडियोलाई लिएर मनमुटाव सुरु भएको देखिन्छ ।’

दुवैबीच मनमुटाब बढ्दै जाँदा ८ महिना अघिबाट नै कर्णले रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको डीएसपी कार्कीले बताउनुभयो । रेवतीको हत्या गर्नकै लागि नेपाल आउन उनले ४ महिनाअघि नै दुबईमा कम्पनीमा बिदा समेत मागेका थिए । तर कम्पनीले बिदा नपाएपछि उनी रोकिएको बयानमा खुलाएका छन् ।

गत भदौ २७ गतेमात्र बिदा पाएका उनी दुबईबाट घर आइपुगे । घर आएको दुईदिनभित्रै उनले रेवतीलाई मार्ने योजना बनाए । त्यसपछि उनी भदौ २९ गते राति रेवतीको घर पुगेका थिए । कर्ण र रेवतीको घर झण्डै २० किलोमिटर टाढा पर्छ । रेवतीका श्रीमान् रोजगारीका लागि भारतमा गएकाले एक्लै भएको मौका छोपी उनी त्यहाँ गएका थिए । डीएसपी कार्कीका अनुसार राति करिब १० बजे कर्ण रेवतीको घरभित्र पसेर उनको घाँटी कपडाले कसेर लडाए । त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्त कर्णले बयान दिएको उनले बताए । रेवतीलाई लगाएको आगो सल्किएर ओछ्यानमा सुतिरहेकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रेवतीको हत्यापछि कर्ण राति नजिकैको एउटा घरमा बास बसी बिहानै घरतर्फ लागेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा विभिन्न चरणमा अनुसन्धान गर्दा कर्णले नै हत्या गरेको भन्ने निष्कर्षमा पुगेर उनलाई पक्राउ गरेको प्रहरीको दावी छ । ‘घटनाको अनुन्धान गर्दै जाँदा सात वर्षअघिको प्रेमको इगो साध्न पूर्व प्रेमिका र उनकी छोरीको हत्या गरिएको देखियो’, कार्कीले भने । प्रेम सम्बन्ध टुटेकाले त्यसकै इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले बयानका क्रममा बताएको डीएसपी कार्कीको दावी छ ।

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस