२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा नयाँदिल्ली जाँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा १३ औं ‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली जाँदैछन् । भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनमा सहभागी हुन शर्मा आइतबार त्यसतर्फ जान लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको र यसपटकको सहभागिता पनि त्यसैको निरन्तरता भएको बताएका छन् ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम छ । पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो-प्यासिफिक’ भनिएको छ । ‘इन्डो-प्यासिफिक’ अमेरिका सहितका देशहरूको सैन्य रणनीति हो । सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मालाई भारतीय सेनाध्यक्ष मनोज पाण्डेले निमन्त्रणा पठाएका थिए ।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ । उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो-प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औं ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन् ।

सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुनेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू नै सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस