२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री वासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सिसी क्यामेरा जडान गरिएको बताए ।

उनले भने, ‘नियमित मोनिटरिङ फेदीस्थित प्रहरी चौकीबाट हुने छ । फेदीबाट फाइवर केवल तानेर पाथीभरा मन्दिर परिसरसम्म पुर्‍याइएको छ । फेदीमा फेस डिटेक्टिङ तथा हेड काउन्टिङ क्यामेरासमेत जडान गरिएको छ ।’

प्रविधिलाई प्राकृतिक प्रकोपबाट जोगाउने हर सम्भव उपायका उपकरणको प्रयोग गरेर यो प्रयास गरिएको छ । पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ । समितिले तीर्थालुको सुविधाका लागि आगामी शनिवारदेखि सुरु हुने गरी पाथीभरा मन्दिर परिसरमा चारवटा सिसी क्यामेरा जडान गरेको समिति अध्यक्ष रक्की थेपेले जानकारी दिए ।

उनका अनुसार मन्दिर प्रवेशद्वार ट्रष्टमा एक, मन्दिरभित्र बायाँ ढोकातर्फ देखिने एक, मन्दिरभित्र देखिने गरी एक, मन्दिरभित्र माताको शिर देखिने गरी एक क्यामेरा जडान भएको छ । त्यस्तै ठूलो फेदीमा कान्छी थान मन्दिर देखिने गरी एक सिसी क्यामेरा जडान गरिएको छ । ठूलो फेदी नजिकै प्रवेशद्वारमा तीर्थालुको सङ्ख्या गणना गर्ने गरी ‘हेडकाउन्टिङ क्यामेरा’ राखिएको छ भने ठूलो फेदी बजार परिसरमा दुई गरी आठ सिसी क्यामेरा जडान भएको छ ।

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस