२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

मनोकाङ्क्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने मुक्तिनाथमा धार्मिक चहलपहल बढ्यो

पोखरा, असोज १२ गते । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा पितृपक्षका समयमा पितृ उद्धारको कामनाका साथ ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । मुक्तिनाथमा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण यहाँको महिमा र गरिमा बढेको छ ।

समुद्र सतहदेखि तीन हजार सात सय १० मिटरको उचाइमा अवस्थित हिन्दू बौद्ध धर्मावलम्बीको साझा तीर्थ मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) का रुपमा लिने प्रचलन छ ।

मुक्तिनाथ मन्दिर भएका कारण मुक्ति क्षेत्रका रुपमा ख्याति कमाएको यस क्षेत्र हुँदै बग्ने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण पनि यसको धार्मिक महत्व अझै चुलिएको छ । मुक्तिनाथको दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास रहेको बताउँदै पुजारी सुवेदीले आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या धेरै हुने गरेको बताए । सोह्रश्राद्धको समयमा आउने दर्शनार्थीले कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्दछन् । कागबेनीमा आई मुक्तिनाथमा दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास रहिआएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस