२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले कोशीमा नेतृत्वका लागि चार आकाङ्क्षी, कसको पल्ला भारी ?

विराटनगर, असोज १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित होटेल मनासलुमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली विराटनगर पुगेका छन् ।

अधिवेशनको सबै तयारी पूरा भइसकेको एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए । अधिवेशनमा एक हजार ४७ जना प्रतिनिधिले भाग लिने अध्यक्ष न्यौपानेले बताए । यद्यपि प्रदेश कमिटीले मनोनयन गर्ने कोटाका ५० जना प्रतिनिधि अहिलेसम्म छनोट गरेको छैन । त्यसबाहेक ९९७ जना प्रतिनिधिहरू विभिन्न जिल्ला, महानगर, जन वर्गीय सङ्गठनहरूबाट चुनिएर आइसकेका छन् ।

शुक्रवार र शनिवार अधिवेशन गर्ने निर्णय गरिएको भए पनि सर्वसम्मतिबाट नयाँ नेतृत्व नटुङ्गिएमा निर्वाचन प्रक्रियामा जानुपर्दा अधिवेशन लम्बिन सक्ने देखिन्छ । यस्तै कोशी प्रदेशमा देखिरहेको पहिचानको मुद्दाको विषयमा पनि अधिवेशनमा छलफल हुने न्यौपानेले बताए ।

अधिवेशनमा विभिन्न पदमा आकाङ्क्षा राखेका नेताहरूबिच सहमति बनाउन प्रयत्न गर्ने र सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व छान्ने प्रयत्न गर्ने अध्यक्ष न्यौपानेको भनाई छ । सहमति बन्न नसकेको अवस्थामा प्यानल नबनाई व्यक्तिगत रूपमा उम्मेदवारी दर्ता गरी निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने उनले जानकारी दिए । अधिवेशनबाट पाँच जना पदाधिकारीसहित २२५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछन् ।

मुलुक सङ्घीयतामा गएपछि पहिलो पटक प्रदेश कमिटीको अधिवेशनमा गएको नेकपा एमाले कोशी प्रदेशको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष न्यौपानेसहित चार जना केन्द्रीय नेताहरुनै आकाङ्क्षी छन् । अध्यक्ष पदमा विनोद ढकाल, घनश्याम खतिवडा टीका चेम्जोङ र तुलसीप्रसाद न्यौपानेले आकाङ्क्षा राखेको देखिन्छ । अन्तिम समयमा नेताद्वय खतिवडा र ढकालबिच प्रतिस्पर्धा हुने सम्भावना बढी रहेको एमाले पङ्क्तिको बुझाइ छ ।

झन्डै तीन दशकदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा रहेका ढकालले प्रदेश अध्यक्ष बन्ने तयारी गर्दा पार्टी अध्यक्षबाट अहिलेसम्म समर्थन पाएको देखिन्न । अध्यक्ष ओली खतिवडालाई प्रदेशको अध्यक्ष बनाएर अघि बढ्ने तयारीमा रहेको स्रोतको दावी छ । खतिवडा विगतमा लामे समय माधवकुमार नेपाल समूहमा रही आठौँ महाधिवेशनदेखि अध्यक्ष ओलीको समूहमा आएका नेता हुन् ।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस