२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रचण्ड आएको केही समयमा नै सत्तारुढ दलकै ज्ञापन– गम्भीर कदम नचाले स्थिति झन् खराब

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) वर्तमान चौतर्फी संकटप्रति सचेत रहन ध्यानाकर्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले ज्ञापन पत्र बुझाउँदै सो ध्यानाकर्षण गराएको हो।

अहिलेको संकटको गम्भीरताप्रति ध्यान दिँदै आवश्यक आर्थिक वित्तिय तथा मौद्रिक कदम चाल्न सो पार्टीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। ‘देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुन सक्छ। त्यसैले अहिलेको सङ्कटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ।

मुलुक आर्थिक मन्दीबाट आक्रान्त भएको हुँदा समाजमा निराशा, कुण्ठा अराजकता विस्तारित भएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, चाडपर्वको मौका पारेर कालाबजारीहरूले मनपरी गर्न थालेको उल्लेख गर्दै यी समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। ‘यसरी मुलुकले दशकौंदेखिको दुश्चक्रलाई तोड्न सकेन। आज हाम्रो बिग्रदो अर्थतन्त्र, राजनीतिक अन्योल र सामाजिक अन्तरराविरोधलाई त्यसै दुश्चक्रको परिणामका रुपमा बुझ्नु पर्छ,’ ज्ञापनपत्रमा भनिएको छ।

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस