२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

गैरआवासीय नेपालीसँग भोट माग्दै पीएचडी अध्ययनरत रोबट लिम्बू

PhD student Robot Limbu asking for votes from non-resident Nepalese

काठमाडाैं | पोर्चुगलमा रहेको युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका रोबट लिम्बू यतिबेला युरोपका विभिन्न देशको भ्रमणमा छन्। आगामी अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंमा हुन गइरहेको ११ औं महाधिवेशनमा लिम्बूले गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

विगत एक दशकदेखि पोर्चुगलमा रेस्टुरेन्ट व्यवसाय गरिरहेका लिम्बूले युरोपमा रहेका नेपाली समुदायको सुख-दु:खमा साथ दिँदै आइरहेका छन्। “म आफैं पनि अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरिरहेको छु, यसकारण विश्वभरी छरिएर रहेका नेपालीहरूको हकहितका लागि काम गर्न चाहन्छु,” लिम्बू भन्छन्, “अब नेतृत्वमा योग्यता, विज्ञतासहितको क्षमता भएको मान्छेहरूको आवश्यक छ।”

लिम्बूले यसअघि गैरआवासीय नेपाली संघको विभिन्न पदमा बसेर काम गरेको अनुभव संगालिसकेका छन्। हाल एनआरएनए पोर्चुगलको सदस्य तथा सल्लाहकार संरक्षक समेत रहेका लिम्बू सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एन्ड प्रोसिड्युअर्स हुँदै अहिले युरोप क्षेत्रको युवा उप-संयोजकको रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। आफूले निर्वाचन जिते “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको उद्देश्यलाई सार्थकता दिनका लागि लागिपर्ने उनले बताएका छन्।

हाल गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकताले मात्र नेपालसँगको वंशजको साइनोलाई अविछिन्न राख्न नसक्ने लिम्बूको भनाई छ। आफूहरूको चाहना वंशजको नागरिकताको निरन्तरता भएको भन्दै उनले गैरआवासीय नेपालीका लागि जसरी नागरिकता ऐन बनेको छ, त्यो स्वागतयोग्य भए पनि धेरै कुरा सुधार्नुपर्ने बताए । नेपाललाई विकासको मूल प्रवाहमा जोड्नका लागि सरकारले रेमिट्यान्सको अपेक्षा मात्रै नगरी विदेशमा रहेका लाखौं नेपालीहरूले सिकेका सीप, अध्ययन र अनुभवलाई समेत प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने लिम्बूले बताए ।

 

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस