२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पशुपति जलहरी प्रकरणमा ढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Pashupatinath jalahari gold

१४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । तत्कालिन सदस्य सचिव थापा हाल कोषको सदस्य सचिव छन् । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्रबैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो । तत्कालिन सदस्य सचिव ढकाल र कोषाध्यक्ष तथा जलहरी निर्माण समितिका संयोजक थापाले सुनको संरक्षण गर्नुपर्नेमा नगरेको र जलहरी निर्माणमा आधिकारिक ज्ञान नभएको विज्ञलाई काम गर्न दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

तर जलहरी निर्माणमा १०१ किलो ४८.५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको अख्तियारले जनाएको छ । राष्ट्र बैंकबाट किनेको १०३ किलो ७७३.१ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १०१ किलो ४८.५ ग्राम सुन घटाउँदा १ किलो ५६५.६ ग्राम सुनको फरक देखिएको थियो । राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार ०.०७२ प्रतिशतले हुन आउने सुन घटाउँदा बाँकी रहेको १ किलो ४९१.७१८ ग्राम सुन हिनामिना भएको अख्तियारका प्रवक्ता दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस