२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालका कप्तानले भने फिल्डिङमा नचुकेको भए भारतलाई जित्थ्यौ, के भन्छन् त प्रशिक्षक मोन्टी ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले एसियन गेम्सअन्तर्गत मंगलबार भएको भारतविरूद्धको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको भए पनि फिल्डिङमा केही ठाउँमा नचुकेको भए नतिजा फरक आउन सक्ने बताएका छन्। टी–२० फर्म्याटको आजको क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको थियो। मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्यो।

यो नेपाल र भारतबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हो। खेलपछि संवाददाताहरूसँग कुरा गर्दै नेपाली टिमका कप्तान रोहित पौडेलले आजको खेलमा धेरै सकारात्मक कुराहरू भएको बताएका छन्। ‘ब्याटिङ सुरूमा राम्रो भएन तर पछि दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र करन केसीले राम्रो खेल्नुभयो,’ पौडेलले भने,‘ सुरूमा राम्रोसँग खेलेको भए अझ राम्रो गर्न सकिन्थ्यो। रिजल्ट जे पनि हुन सक्थ्यो।’

समग्र खेलको प्रदर्शन सन्तोषजनक भए पनि फिल्डिङमा आज केही कमजोरी भएको उनले बताए। ‘फिल्डिङमा हाम्रो जुन स्ट्यान्डर्ड थियो, त्यसलाई आज हामीले पूरा गरेनौं। कुनै दिन यस्तै अफ भइहाल्छ,’ पौडेलले भने। आज खेलेका धेरै भारतीय ब्याट्सम्यान बाँयाहाते थिए। ‘उनीहरू धेरै लेफ्टी भएका सुरूमा नेपाली स्पिनरलाई गाह्रो भइरहेको थियो। त्यही भएर अफ स्पिन गर्नुपर्छ कि भनेर म आफैं बलिङमा आएको थिएँ,’ उनले भने।

दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले ब्याटिङ गरिरहेका बेला आफूहरू खेल जितिनेमा विश्वस्त भएको उनले बताए। ‘उहाँहरूले ब्याटिङ गरिरहेका बेला हामीलाई जित्छौं भन्ने लागेको थियो,’ पौडेलले भने,‘उहाँहरू दुईमध्ये एक जना अन्तिमसम्म टिकेको भए नतिजा जे पनि हुन सक्थ्यो।’ पछिल्ला दुई–तीन महिनामा नेपालले राम्रा टिमसँग खेलिरहेको र एक्स्पोज पाइरहेको पनि उनले बताए। ‘टेस्ट राष्ट्रसँग पनि खेलिरहेका छौं। आज भारतसँग पनि राम्रो प्रतिस्पर्धा गर्‍यौं। जितेको भए झन् राम्रो हुन्थ्यो,’ पौडेलले भने।

राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाईले पनि आज फिल्डिङ कसिलो गरेको भए भारतलाई १९० रनमै रोक्न सकिन्थ्यो भन्ने लागेको बताए। ‘एक–दुई बल हामीले राम्ररी फिल्डिङ गरेको भए उनीहरूलाई १९० मा रोक्न सक्थ्यौं। उनीहरूको १०–१२ रन कम भएको नतिजा जे पनि हुन सक्थ्यो,’ देसाईले भने।

आजको खेलमा नेपाली खेलाडीको प्रदर्शनले आफूलाई गर्व लागेको उनले बताए। ‘भारतीय खेलाडी आइपिएल खेलिसकेका खेलाडी हुन्। फेरि टी–२० भनेको यस्तै खेल हो। बलरको आफ्नो योजना हुन्छ, ब्याटरको आफ्नै योजना हुन्छ,’ प्रशिक्षक देसाईंले भने, ‘हामीले राम्रो खेल्यौं। यो खेलबाट हामी विश्वकप छनौटका लागि धेरै आत्मविश्वासी भएका छौं।’ पछिल्लो समय नेपालले क्रिकेटमा एउटा चरित्र निर्माण गरिरहेको उनले बताए।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस