२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीले सुरु गरिन् अनशन, राष्ट्रपतिले माफी दिएका रिगललाई जेलमै राख्नुपर्ने माग

१६ असोज, काठमाडौं । भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल) लाई सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् । माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन् ।

अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न ।’ रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

कैद मिनाहा दिने राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतनकी श्रीमती भारती अनशन बसेकी हुन् । हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको उनले जानकारी दिइन् । रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ । यो विषयले अहिले नेपालगञ्ज समेत अशान्त छ ।

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस