२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति २ पटक भूकम्प गएको हो।
बिहीबार राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। यस्तै, बिहीबार राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि मंगलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर भूकम्पबाट १ जनाको मृत्यु हुनुका साथै जनधनको क्षति भएको थियो। सुरुमा मंगलबार दिउँसो २:४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ रेक्टस्केलको भूकम्प गएको थियो। त्यसपछि चैचनपुर केन्द्रविन्दु भएर दिउँसो ३:०६ बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। मंगलबार यता बझाङ केन्द्रविन्दु भएर १३ पटक भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३:१३ बजे ५.१ रेक्टर स्केल, दिउँसो ३:४५ बजे ४.१ रेक्टर स्केल, दिउँसो ४:२८ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। यस्तै, मंगलबार दिउँसो ४:३१ बजे ४.३ रेक्टर स्केल, अपराह्न ५:१९ बजे ५ रेक्टर स्केल, ५:३८ बजे ५ रेक्टर स्केल, राति १२:१६ बजे ४.१ रेक्टर स्केल र राति १२:५० बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो। बुधबार बिहान ४:२७ बजे ४.३ रेक्टर स्केल र ५:२७ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्। ‘विगत ५०० वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,’ उनले भने।

गत १ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा ६ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ३ वटा भूकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २०७९ कात्तिक यता सुदूरपश्चिम केन्द्रविन्दू भएर ४ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ५५ वटा भूकम्प गएका छन्। यस्तै, ४ म्याग्निच्यूडभन्दा कमको तीव्रता भएका २ हजार ८० वटा भूकम्प गएका छन्।

२०७९ कात्तिक २२ गते डोटीको खप्तड क्षेत्र आसपास केन्द्रविन्दू भएर ६.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले भत्किएका भौतिक संरचनामा च्यापिएर डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरीगाउँका ६ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस