
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका–६ स्थित स्मृति लामिछानेको शिव सिद्धी ईन्टरप्राइजेजमा काम गरी बस्ने सिन्धुली घर भएका १९ वर्षीय अर्जुन तामाङको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । मोटरसाइकल सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
रौतहटको गुजरा नगरपालिका–३ बस्ने ३५ वर्षीय शेख खालीको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुर, चौदण्डीगढी नगरपालिका–३ सौरेली टोलमा विद्युतको पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने ४० वर्षीय पदम श्रेष्ठको बिहीबार बिहान मृत्यु भएको छ । टोल बिकास समितिद्वारा बल्ब लगाउने कार्य भइरहेको अवस्थामा पोलमा चढ्ने क्रममा करेन्ट लागी अशक्त भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।