२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बनेपामा ९२ बोरा चिनी बरामद, एकजना पक्राउ

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी ४२ हजार रुपैयाँको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनका अनुसार बिहीबार अपराह्न ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा–२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो।

सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरूपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनायो ।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस