काठमाडौं । हिन्दू शास्त्रको कथन अनुसार र हिन्दू नेपालीहरुले मान्दै गरिआएको चलनअनुरुप आश्विन शुक्लपक्ष सप्तमी तीथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि भन्ने गरिन्छ। यस दिन सबै नेपालीहरुको घरमा दशैंको पूजा सामग्रीस्वरूप फूलपाती भित्र्याउने चलन छ।
बडादशैंको अरु दिनजस्तै फूलपातीको अर्थात् महासप्तमीको दिनको पनि विशेष महत्व रहन्छ। यस दिन काठमाडौंको टुँडिखेलमा बढाईं गरेपछि फूलपातीको रुपमा केरा, दारिम, धान, हलेढो,माने,कर्चुर, बेल, अशोक, र जयन्ती आदि नौ प्रकारका पातहरु प्रत्येकको नौं–नौं प्रतिका दरले दुर्गापूजा स्थापना गरेको ठाउँमा भित्रयाउँछन्।
ती नौंवटा पातहरुमा क्रमशः नवदुर्गा स्वरुपिनी माता अर्थात् देवीहरू लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहरिणी,ब्रम्ह्माणी, रक्तचण्डिका र कीर्तिका देवीलाई आवाह्न गरेर घर–घरमा विधिवत पुजा–अर्चना गरिन्छ।
अरु महत्वपूर्ण दिनसरी फूलपातीको दिन पनि सार्वजनिक विदा रहन्छ। यसदिन काठमाडौँका नेवार समुदायका घर–घरमा प्राय विश्वकर्मा एवं विध्यादेवी महासरस्वतीलाई आवाह्न गरीकन विधिवत् तरीकाले पुस्तक,कपी, कलम, ज्यावलहरु, मेशिन–सामाग्रीहरु अनि कृषकका कोडाला, हँसिया, खन्तीहरु आदि इत्यादिको पनि स्थापना गरी पूजाआजा गरिन्छन्। त्यसका साथै किसानहरु भने खेतमा गई लटरम्म फलेको धनको बालाहरु पनि घरमा भित्र्याएर त्यसको पूजा गर्ने गर्दछन्।
परापूर्वकालदेखि चलिआएको चलन अनुसार गोरखा दरबारबाट फूलपाती राजधानीको हनिमानढोका दरबारमा पनि भित्र्याउने गरिन्छ। यस दिनबाट झन् दशैंको बजारको मेला नै ठाउँ ठाउँमा लागेको हुन्छ जुन हेर्न लाएको हुन्छ।