२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

क्यानाडाको अन्टारियोमा बन्यो ‘सगरमाथा पार्क’

Everest Park was built in Ontario Canada

२९ असोज, अन्टारियो । क्यानाडाको अन्टारियो प्रान्तमा रहेको ब्राम्प्टन सहरमा अवस्थित एक पार्कलाई ‘सगरमाथा पार्क’ नामाकरण गरिएको छ । नेपालीहरुको समेत बाक्लो बसाई रहेको उक्त क्षेत्रमा शनिबार एक कार्यक्रमकाबीच पार्कको नामाकरण गरिएको हो।

फ्लावर सिटीको रूपमा परिचित शहर ब्राम्प्टनको चेरीट्री ड्राइभमा अवस्थित उक्त पार्कलाई नेपालसँग जोड्न पाउँदा खुशी लागेको नेप्लिज कम्यूनिटी नेटवर्क अफ क्यानाडाका अध्यक्ष नरबहादुर क्षेत्रीले बताए। ‘यहाँको सिटी काउन्सिलले सगरमाथा पार्क नामाकरण गरेको छ । अब पार्कमा पुग्दा पनि नेपालमै पुगेजस्तो लाग्छ,’ उनले विगतलाई स्मरण गर्दै भने, ‘हामीले गत जनवरीमा यस क्षेत्रका मेयरलाई भेटेर नै पार्कको नाम सगरमाथा पार्क राख्न अनुरोध गरेका थियौं। अन्तत: हाम्रो प्रस्तावको अनुमोदन भएको छ।’

क्यानाडाको मूलधारको राजधानीमा सक्रिय विजय पौडेलले क्यानाडाको सार्वजनिक स्थललाई नेपालसँग जोड्न पाउनु ठुलो उपलब्धि रहेको बताए। फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसमेत पौडेलले भने, ‘यहाँका मेयरले पार्कभित्र सगरमाथको झल्को लाग्ने रक क्लाईमिङ्ग पनि बनाऊने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यो हाम्रो लागि झन् खुशीको क्षण हुनेछ।’

युवा उद्यमी समेत रहेका पौडेलले यस्ता गतिविधिले नेपालको पर्यटन प्रवद्धनमा पनि टेवा पुग्ने अपेक्षा राखेका छन्। उनले भने, ‘नेपाल र क्यानाडाबीच कुटनीतिक सम्बन्ध भएको ५८ वर्ष पुग्दै गर्दा लाग्दा हामीलाई उपहार जस्तै भएको छ। इस्प्यारो पार्कका रूपमा परिचित सो पार्कले अब विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम पाएको छ।सबै नेपालीलाई गौरवान्वित बनाएको छ।’ यसैबीच सिटी अफ ब्राम्प्टनले पनि ‘सगरमाथा पार्क’ नामाकरण भएकोमा खुशी ब्यक्त गर्दै उक्त परियोजना सफल पार्नमा नेपाली समुदायले खेलेको भूमिकाको प्रंशसा गरेको छ।

– मोहन बरालबाट

 

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस