२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मध्यपहाडीबाट विशाल शक्ति लिएर दुनियाँकै अत्याधिक रुचाइएकाे पार्टी बन्नेछ एमाले

२२ कात्तिक, काठमाडौं । विश्व कम्युनिस्टहरुले अहिलेपनि नेपालमा नेकपा (एमाले) ले पाएकाे जनमत देख्दा चकित छन् । विश्व मानचित्रमा कम्युनिस्टहरु हराउँदै गए भनिदैगर्दा नेपालबाट उदाइरहेकाे उनीहरुको बुझाई छ । हुनपनि अहिलेपनि सबै कम्युनिस्ट एक हुँदा जारी संसदमा नै बहुमत छ । कुनैबेला जनमत पाएका कम्युनिस्ट दलका नेतृत्व वर्तमान संसद बाहिर छन् । सबै शक्तिलाई अन्दाज गर्दा दुईतिहाई जनमत अहिलेपनि कम्युनिस्टसँग छ । कम्युनिस्टहरुमा अहिले एमाले बलियाे र ठूलाे छ । यही कारण दक्षिणपन्थीहरुले एमालेमाथी आक्रमण गर्नु सामान्य हाे ।

बुधबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा गरेकाे बृफिङमा याे विषय निक्कै संवेदनशील ढंगले आयो । उनले एमाले सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुले सुनियोजित प्रयत्न गरिरहेको निष्कर्ष सुनाए ।

‘एमालेमाथि हरेक खाले आक्रमण भइरहेको छ, हामीलाई सिध्याउन देशभित्र सबै दल एकठाउँ उभिएका छन्’, विदेशी शक्ति त्यसैगरी केन्द्रीत छ ओलीले भनेका थिए ।

नेपाली कांग्रेसले माओवादी केन्द्रलाई बोकेर हिँड्नुको एउटै चाहना एमाले सिध्याउने रहेको ओलीको दाबी छ । यसैले जनताको बीचमा गएर पार्टीविरुद्ध भइरहेको घेराबन्दी तोड्नुपर्ने विकल्प ओलीले बैठकमा सुनााएपछि रणनीतिक महत्त्वकाे निर्णय लिइन्छ ।

‘एमाले नै मुलुकको मूल शक्ति हो भन्ने सन्देश जनताबीच लैजानुपर्छ, पार्टीले सञ्चालन गर्ने अभियानमा अधिकतम कार्यकर्ता परिचालन गर्नुपर्छ’, ओलीले पदाधिकारीहरुलाई निर्देशन दिँदै मध्यपहाडीबाट पदयात्राको खाका सुनाए ।

यो अभियान चलाउने निर्णय लिनु अगाडि एमालेले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई रुट अध्ययन गर्न पठाएको थियो । धादिङ पूर्वको रुटमा ज्ञवाली र पश्चिममा रिमाल नेतृत्वको टोली खटिएको थियो । ज्ञवाली र रिमालले यो रुट भएर क्याराभान चलाउन सम्भव रहेको रिपोर्ट ल्याएपछि बैठकले निर्णय लिएको हो ।

बुधबारकै बैठकबाट एमालेले आगामी १४ मंसिरदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । तीन साता चल्ने यो ‘क्याराभान’ लाई एमालेले जनतासँग पार्टी जोड्ने अभियान भनेको छ ।

‘गत मंसिरको चुनावलगत्तै पार्टीले मिसन–०८४ लक्ष्य बनाएर संगठन सुदृढीकरण र जागरण अभियान चलाइरहेको छ । यो क्याराभान पनि त्यसैको निरन्तरता हो । गत चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले फागुनदेखि वैशाखसम्म ‘मिसन ग्रासरुट’ अभियान चलायो ।

त्यो अभियानका क्रममा नेताहरुले तयार पारेको प्रतिवेदनलाई आधारमा मानेर एमालेले असारदेखि एक वर्षे अभियान चलाइरहेको छ । नेताहरुको व्यापक जिम्मेवारी हेरफेरसहित एक वर्षे अभियान चलाइरहेको एमालेले पहिलो चरणमा प्रदेश अधिवेशन सकेर संगठन सुधारको अभियान थालेको छ । अब जिल्ला हुँदै वडासम्मको नेतृत्व परिवर्तन गर्दैछ ।

आम नागरिकसम्म पार्टीको उपस्थिति देखाउने कार्यक्रम भने यही पदयात्रा पहिलो हो । एमालेले तराइको महेन्द्र राजमार्ग केन्द्रित भएर धेरैपटक अभियान चलायाे, अरु दलले पनि चलाए । तर अलिक अप्ठ्यारो भएकाले पहाडी क्षेत्र केन्द्रित अभियान कसैले चलाएको थिएन । एमालेले पहिलोपटक पुगेर जनतामा आशा जगाउने लक्ष्य लिएको छ ।

बैठकपछि उपमहासचिव ज्ञवालीले क्याराभान सञ्चालनको चार उद्देश्य रहेको बताए । उनका अनुसार पहाडी क्षेत्रको समृद्धि, सामाजिक सद्भाव र राष्ट्रिय एकता, कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं स्थापना उत्सव र नागरिकमा देखिएको निराशा चिर्ने काम यो अभियानले गर्नेछ ।

‘झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ नाममा चल्ने यो क्याराभानमा एमालेले भौतिक विकास र मानवीय विकासको अध्ययन गर्ने उद्देश्य लिएको छ ।

एमालेले यो अभियानमा आवश्यक पर्ने प्राविधिक टोली पनि सँगै हिँडाउने भएको छ । प्राविधिक टोलीले विकासको सम्भाव्यता अध्ययन गर्नेछ ।

यो रुटमा पोखरा बाहेक अरु ठाउँ साना बजारहरु मात्रै छन् । तर भर्खरै विकास हुँदै गरेको ती साना बजार पहाडी क्षेत्रको नयाँ केन्द्र बनिरहेकाले पनि यो क्याराभानबाट एमालेले शक्ति आर्जनको अनुमान गरेको बुझ्न सकिन्छ ।

क्याराभानको दोस्रो उद्देश्यका रुपमा एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकता भनेको छ । ‘अहिले देखिएको अतिवादी सोच निस्तेज गर्ने एमालेकाे उदेश्य छ ।

तराइ केन्द्रित अभियान सञ्चालन गर्नु परम्परागत शैली भएकाले नयाँ रुट भएर चल्ने यो अभियानबाट एमालेले राष्ट्रिय एकताको सन्देश दिन चाहेको देखिन्छ । ‘हिमाल, पहाड र तराइलाई जोडेर राष्ट्रिय एकता बलियो बनाउने शक्ति एमाले हो भन्ने सन्देश दिन एमाले नेतृत्व सक्रिय हुनेछन् ।

क्याराभानको तेस्रो उद्देश्य भने पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको ७५औं वर्षको उत्सव हो । यो वर्षलाई विशेष बनाउने भनेर एमालेले पुस्तक प्रकाशनदेखि अरु गतिविधि गर्ने निर्णय यसअघि गरिसकेको छ ।

एमालेले क्याराभानको चौथो उद्देश्यमा भने नागरिकमा आशा जगाउने कार्यलाई राखेको छ । ‘अहिले देश बर्बाद भयो, केही भएन भन्ने स्थापित गर्न खोजिदैछ । एमालेले देशभित्रै सम्भावना छ भन्ने सञ्चारित गराउनेछ ।

क्याराभानको मूल उद्देश्य पार्टीलाई बलियो बनाउने र बदलिदो जनमत फर्काउने नै हो । नयाँ शक्तिहरुको आकर्षण राजधानी उपत्यकासहित शहरी क्षेत्रहरुमा देखिएकाले एमाले आफूलाई फरक र आक्रमक देखाउने योजना देखिन्छन् । त्यो योजना अन्तगर्त पहाडी क्षेत्रको जनमत जोगाउन पनि यो क्याराभानले सहयोग पुग्ने एमाले नेताहरुको मूल्याङ्कन छ । क्याराभान सकिदा मध्यपहाडीबाट विशाल शक्ति लिएर दुनियाँकै अत्याधिक रुचाइएकाे पार्टी एमाले बन्ने नेतृत्वको अपेक्षा छ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस