२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

निलो हिरा साढे पाँच अर्बमा बिक्री, इतिहास के हो ?

काठमाडौं । स्विट्जरल्यान्डको जिनीभास्थित क्रिस्टिज् लिलाम घरले एउटा एकदमै दुर्लभ प्रकृतिको निलो रङ्गको हिरा चार करोड डलर अर्थात झन्डै साढे पाँच अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको समाचार एजेन्सीहरूले जनाएका छन्।

औँठीमा जडिएको र लाम्चो नासपाती फलको जस्तो आकार भएको त्यो १७.६१ क्यारट तौल भएको ब्लू रोएल डायमन्ड नामक हिरा ४३. ८ मिलिअन डलरमा खरिदबिक्री भएको थियो।

क्रिस्टिजले भनेको छ लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो निलो रङ्ग भएको त्यो सबैभन्दा ठूलो जुवाहरात हो। वर्षौदेखि एउटा निजी सङ्कलनमा रहेको उक्त हिरा लिलाम बढाबढ गरेर बिक्री गरिएको भने यो पहिलो पटक हो।

उक्त लिलाम घरले एक वक्तव्य जारी गर्दै खानीबाट उत्खनन गरिएको त्यो सबैभन्दा दुर्लभ हिरामध्येको एक भएको जनाएको छ।
क्रिस्टिजले भनेको छ उक्त लिलाम घरको २५० वर्षे इतिहासमा “फ्यान्सी भिभिड ब्लू डायमन्ड” प्रकृतिको र दश क्यारटभन्दा माथिको तौल भएको जम्मा तीन वटा हिरा मात्र बिक्रीमा आएका छन् : सन् २०१०, २०१४ र २०१६ मा।

क्रिस्टिजका अनुसार सन् २०१६ मा ओपनहाइमर ब्लू नामको १४. ६२ क्यारटको त्यस्तो हिरा पाँच करोड सत्तरी लाख डलरमा बिक्री भएको थियो।

जिनीभामा क्रिस्टिजको गहना विभागका प्रमुख म्याक्स फअसेटले एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै उक्त लिलाम घरले सन् २०२३ मा संसारभरी बिक्री गरेको मध्ये त्यो नै “सबैभन्दा महङ्गो गहना भएकोले आफूहरू एकदमै खुसी भएको” बताएका छन्।

सोमवार नै क्रिस्टिजले अमेरिकी अभिनेता मार्लन ब्रान्डोले ‘एपकलिप्स नाउ’ चलचित्रमा लगाएका रोलेक्स घडी पचास लाख डलरमा विक्रि गरेको समाचार एजेन्सीहरूले बताएका छन्। बीबीसीबाट

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस