
काठमाडौं । एकदिवसीय विश्वकप २०२३ को सबैभन्दा ठूलो खेल अर्थात फाइनल आज आयोजक भारत र पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाबीच हुँदैछ । खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ । दुवै टोली दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दैछन् । उनीहरुबीच यसअघि अन्तिम पटक २००३ को एकदिवसीय विश्वकपको फाइनल खेलभएको थियो । सो खेलमा कंगारु टोली १२५ रनले विजयी भएको थियो । भारतीय टोली चौथो पटक विश्वकप फाइनलमा पुगेको छ ।
यसअघि भारत सन् १९८३, २००३ र २०११ मा यस प्रतियोगिताको फाइनलमा पुगेको थियो । अर्कोतर्फ अष्ट्रेलियाको टोली आठौं पटक विश्वकपको फाइनलमा पुगेको छ भने ७ मध्ये ५ खेल जितेको पनि छ । अष्ट्रेलिया विगत २७ वर्षदेखि विश्वकपको फाइनलमा हारेको छैन। टोलीले पछिल्लो २४ वर्षमा सबै ४ वटा फाइनल जितेको छ । फाइनलमा अष्ट्रेलिया अन्तिम पटक सन् १९९६ मा श्रीलंकासँग पराजित भएको थियो । भारत र अष्ट्रेलियाबीच हालसम्म कूल १५० ओडीआई खेलिएको छ । भारतले ५७ खेल जितेको छ भने अष्ट्रेलियाले ८३ खेल जितेको छ । १० खेल अनिर्णित रहेका छन ।