२०८१ बैशाख १७ गते सोमवार | 2024 April 29th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रदेशमा प्रहरी समायोजन माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा

काठमाडौं । प्रदेश सरकारले बनाएका प्रहरी ऐन कार्यान्वयनसहित प्रहरी समायोजन माग गर्न सातै प्रदेशका गृहमन्त्रीहरू सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएका छन् । उनीहरूले प्रहरी समायोजन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन् ।

दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले जानकारी दिए। आजै प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई भेटेर प्रहरी समायोजनको विषयमा सबै प्रदेशका गृहमन्त्री जुटेका हौं, समायोजन नहुँदा सबै प्रदेश सरकारलाई धेरै समस्या परेको छ, उनले भने ।

प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् । प्रदेशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको आरोप रहेको छ ।

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन आवश्यक कानून नबनाएको गुनासो गर्दै यसअघि पनि उनीहरूले प्रहरीबिनाको प्रदेश सरकार अपूर्ण रहेको बताउँदै आएका छन् । प्रहरी ऐन बनेका प्रदेशमा दशैंपछि प्रहरी भर्ना गर्न पाउने मौखिक संकेत पाएका प्रदेश सरकारलाई अहिलेसम्म कुनै संकेत नआएपछि पुनः सरकारको ध्यानाकर्षण गराउन थालेका हुन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस