२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनसेल प्रकरणमा खरबौँको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताएका छन् । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत शनिबार राति नुवाकोटको बट्टारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सो मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको बताए । नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनु पर्नेमा ओलीको जोड थियो ।

अब हिजोको जस्तो निर्वाहमुखी होइन समृद्धिको यात्रामा अघि बढ्नु पर्ने ओलीले बताए । यही सन्देश लिएर नेकपा एमालेले मङ्सिर १४ गतेबाट अभियान सुरु गरेको उनले स्पष्ट पारे । यात्राको क्रममा राति १० बजेसम्म पनि नागरिकले पर्खिएर शुभकामना दिएको भन्दै ओलीले धन्यवाद व्यक्त गरे ।

एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र कुन अवस्थामा पुगेको छ भन्ने नेपालीले अनुभूत गरेका उनले बताए । जे गरे पनि पाइने, जे गरे पनि हुने अवस्थामा देश पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे । अहिले एनसेल कम्पनी प्रकरणमा ठूला आर्थिक अपराधको काम भइरहेको ओलीले टिप्पणी गरे । २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले सो कुरा छल्नलाई कम्पनी अर्कालाई बेचेको नाटक गरिएको ओलीले बताए । ‘खरबौँको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ’, ओलीले भने ।

देशलाई कंगाल बनाएर केही मानिसले ढुकुटी भर्ने कमिसनको खेल बन्द गर्न ओलीले सरकारलाई आग्रह गरे । यो खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने उनले स्पष्ट पारे । सरकार भ्रष्टाचार र सुन तस्करी काण्डमा डुबेको ओलीले टिप्पणी गरे । सकारको संलग्नता बिना एयरपोर्टबाट ३५ टन सुन छिर्न नसक्ने उनको दावी थियो । ‘सरकारको मिलेमतो मात्र होइन, सरकारी क्रियाकलापको अंग बनाएर छिराइएको छ, त्यहाँका कर्मचारीलाई संलग्न बनाएर गरिएको छ’, उनले भने ।

वर्तनमा गठबन्धन सरकार निकम्मा भएकाले सरकारमा बस्ने हैसित नरहेको उनले बताए । यो सरकार अब देशको लागि अफाप सिद्ध भइसक्यो, सो सरकारलाई सत्तामा बस्ने अधिकार नै छैन’, उनले भने । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा (बादल), विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस