२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालाचतुर्दशी पर्व आजदेखि, पशुपतिमा दिवङ्गत पितृका नाममा महादीपदान

काठमाडौं । बालाचतुर्दशी पर्व आज (आइतबार) बेलुकीदेखि हुँदै छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाउने गरिएको छ । बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दिवङ्गत पितृका नाममा महादीपदान बालेर गरिन्छ  । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेको जानकारी गराउनुभयो । उहाँका अनुसार मृतकका आफन्तजनले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन रातभर महादीप बाली भजनकीर्तन र लोकझाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ । उहाँले मृतक परिवारभित्र सदस्यले दिवङ्ग आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किरातेश्वर आदि ठाउँमा शतबीज छर्ने गरेको उल्लेख गर्नुभयो । भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा शतबीज मार्ग र बत्ती बाली बस्ने स्थानमा सुरक्षा व्यवस्था, टेन्ट, पाल तथा पार्किङ मिलाइएको छ  ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस