२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

शक्तिशाली आँधीले उडाएका चार महिनाका शिशु जीवित फेला, कसरी बच्यो ज्यान ?

काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेनिसीमा टोर्नेडो अर्थात् जमिनमा विकसित हुने सोली आकारमा भुमरी परेको शक्तिशाली हावाहुरीमा परेका एक जना चार महिनाका शिशु जीवितै फेला परेपछि ‘ईश्वरको कृपाले’ त्यो सम्भव भएका उनका अभिभावकले बताएका छन्।

उनीहरूको घुम्ती घरलाई शनिवारको खतरनाक आँधीले ध्वस्त बनाएको थियो भने बच्चा रहेको कोक्रो उडाएर लगेको थियो। ती चार महिनाका शिशु लडिरहेको एउटा रुखमा जीवितै फेला परेका थिए। त्यसबेला झमझम पानी परिरहेको थियो।

ती शिशु, उनका एक वर्षका दाजु र परिवारका सदस्यहरूलाई साधारण चोटपटक लागेको छ। आँधीले सबैभन्दा सुरुमा उनीहरूको घुम्ती घरको छानो उडाएको २२ वर्षिया आमा सिड्नी मुरले बताइन्। “टोर्नेडो टुप्पो तल प्रवेश गर्‍यो र मेरो बच्चासहितको कोक्रोलाई उडायो,”मुरले स्थानीय टेलिभिजन स्टेशनलाई भनिन्, “माथि उड्ने उनी पहिलो कुरा थिए।”

उनका प्रेमी र बच्चाका पिताले लर्ड नामक ती शिशुलाई जोगाउने प्रयास गरेका थिए तर उनीहरू पनि आँधीमा फस्न पुगे। “उनले पूरै समय कोक्रोलाई च्यापिरहेका थिए र उनीहरू फनफन घुम्न थालेको उनले बताए र त्यसपछि उनीहरू उछिट्टिए,” मुर भन्छिन्।

त्यो भइरहँदा उनले भने आफ्ना एक वर्षका छोरा प्रिन्सटनलाई समाइरहेकी थिइन्। “म भित्रको केही कुराले मलाई दौडन र मेरो छोराको माथि हामफाल्न भन्यो,” उनले भनिन्, “म हाम फालेकै क्षणमा भित्ता भत्कियो।” उनले आफू थिचिएको र शास फेर्न पनि नसेको बताइन्।

टोर्नेडो रोकिएपछि मुर भग्नावशेषबाट निस्कन सकेकी थिइन्। उनका छोरा प्रिन्सटन उनीसँगै थिए। त्यसपछि उनी र उनका प्रेमीले लर्डको खोजी गर्न थाले। त्यो बेला पानी परिरहेको थियो र उनीहरूले आफ्नो सन्तान ‘सानो रुख जस्तै देखिने कोक्रो’ मा फेला परेको मुर बताउँछिन्।

“मलाई लाग्यो उनको मृत्यु भयो। मलाई अब हामी उनलाई भेटाउँदैनौँ भन्ने लागेको थियो। तर उनी भगवानको कृपाले हामीसँगै छन्।” मुरकी बहिनी क्याटलिन मुरले उनीहरूको कार र घरलाई टोर्नेडोले पूर्ण रूपमा नष्ट गरिदिएपछि एउटा सहयोग अभियान थालेकी छन्।

क्याटलिनका अनुसार मुर र उनका छोराहरूमा सामान्य खत र चोट छ भने उनका प्रेमीको हात र कुहिना भाँचिएको छ। गोफन्डमीमा राखिएको विवरण अनुसार लर्डलाई रुखमा बिस्तारै अड्याइएको जस्तो देखिन्थ्यो। “यस्तो लाग्थ्यो कि उनलाई एक जना परीले त्यो ठाउँमा पुर्‍याएकी थिइन्।” मुरले भनिन्, “म मेरो बच्चाहरूका लागि ज्यान दिनसक्छु। मेरा प्रेमीले पनि त्यसै गर्नसक्छन्। त्यसमा कुनै शंका छैन।” बीबीसी

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस