२०८१ बैशाख १६ गते आइतवार | 2024 April 28th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भिजिट भिसामा सेटिङ: दैनिक करिब एक करोड घुस लेनदेन, सुन तस्करीमापनि कर्मचारी नै

Setting up a visit visa

काठमाडौं । भिजिट भिसामा हुने मानवतस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको संस्थागत संलग्नता देखिएको छ । पक्राउ परेका एक अध्यागमन अधिकृत र एजेन्टहरूमाथिको अनुसन्धानले दैनिक करिब एक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको उजागर गरेको छ ।

प्रहरीले नक्कली कागजपत्र बनाउने र भिजिट भिसामा विदेश पठाउने ३४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा अध्यागमन अधिकृत नरवीर खड्कासमेत छन् । एजेन्टसँग दुई लाख रुपैयाँ लिँदै गर्दा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो । प्रहरीको सोधपुछमा उनले अध्यागमन कार्यालयभित्र संस्थागत रूपमै पैसा लेनदेन हुने गरेको स्वीकार गरेका हुन् । अध्यागमनका अन्य कर्मचारीविरुद्ध प्रहरीले प्रमाण संकलन गरिरहेको छ ।

प्रहरीका अनुसार दैनिक सेटिङमा दुई सयदेखि तीन सयजना भिजिट भिसामा रोजगारीका लागि विदेश जाने गर्दथे । उनीहरूसँग ३० हजारदेखि ५० हजार रुपैयाँ एजेन्टमार्फत अध्यागमनका कर्मचारीले घुस लिन्थे । यसअनुसार औसतमा दैनिक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

पक्राउ परेका एजेन्ट मनोज लामाले मात्र पछिल्लो तीन महिनामा अध्यागमन कर्मचारीलाई दुई करोड रुपैयाँ बुझाइसकेको बताएका छन् । उनीजस्ता दर्जनौँ एजेन्ट अध्यागमनमा सेटिङ मिलाउँथे । खासगरी कुवेत र संयुक्त अरब इमिरेट्समा भिजिट भिसामा पठाउन यस्तो सेटिङ हुने गरेको थियो । त्यसरी गएकाहरू कतिपय बेचिएका छन् भने केही बिचल्लीमा परेर फर्किएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा मानवतस्करी गर्ने चारवटा समूहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा भिजिट भिसामा हुने मानवतस्करीमा अध्यागमनका कर्मचारीको पनि मिलेमतो देखिएको र यसमा विस्तृत अनुसन्धान भइरहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए । उनले भने, ‘प्रमाणले भेटेसम्म कसैलाई छाड्दैनौँ ।’ अध्यागमनभित्र संस्थागत रूपमै भिजिट भिसाको सेटिङ हुने र लेनदेन हुने गरेको पर्याप्त आधार भेटिएको प्रहरी स्रोतको दाबी छ ।

अध्यागमनमा तीन सिफ्टमा ड्युटी खटाइएको हुन्छ । कार्यालय प्रमुखसहितको टिमले यसको निर्णय गर्छ । कतिपय अवस्थामा यसरी ड्युटी खटाउने वेलामा मिलेमतो हुने गरेको स्रोत बताउँछ । हरेक दिन ड्युटी फरक परे पनि सेटिङ निरन्तर चल्ने भएकाले यसमा संस्थागत रूपमै मानवतस्करी हुने गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

कर्मचारीलाई हरेक हप्ता नयाँ मोबाइल
अनुसन्धानबाट जोगिन अध्यागमनका कर्मचारीले छुट्टै मोबाइल बोक्ने गर्थे, त्यो मोबाइल पनि हरेक हप्ता परिवर्तन हुन्थ्यो । अपराध अनुसन्धान कार्यालयका अधिकारीकाहरूका अनुसार हरेक एजेन्टहरूले नयाँ सिम र मोबाइल अध्यागमनका कर्मचारीलाई उपलब्ध गराउँथे । तिनै मोबाइलमा भिजिट भिसामा जानेहरूको सूची ह्वाट्सएपमा पठाइन्थ्यो । त्यहीअनुसार अध्यागमनका कर्मचारीले सेटिङका व्यक्तिलाई प्रस्थान अनुमति दिन्थे । पक्राउ परेका अधिकृत नरवीर खड्काको मोबाइलमा ६६ जनाको लिस्ट भेटिएको छ ।

कर्मचारीले विमानस्थल आपपासका होटेल र रेस्टुरेन्टलाई पैसा लेनदेनको अखडा बनाएका थिए । अनुसन्धानबाट जोगिनका लागि सीधै पैसा लिँदैन थिए । होटेल तथा रेस्टुरेन्टका काउन्टरबाट धेरैले पैसा लिने गरेको र बाँडफाँट गर्दै आएको प्रहरीले जनाएको छ ।

तस्करीमा केही एयरलाइन्स कम्पनीहरूको समेत मिलेमतो देखिएको प्रहरी दाबी छ । नेपाल एयरलाइन्सका त कर्मचारी नै पक्राउ परेका छन् । उनीहरूले नक्कली दुईतर्फी टिकटकै आधारमा बोर्डिङ पास उपलब्ध गराएर मानवतस्करीमा सघाउँदै आएको प्रहरीले जनाएको छ । जसबापत प्रतिव्यक्ति करिब १० हजार रुपैयाँ लिँदै आएका थिए ।

अध्यागमनमा संस्थागत भ्रष्टाचार नै देखिँदा पनि गृह मन्त्रालयले भने आन्तरिक छानबिनमा चासो दिएको छैन । प्रहरी पनि गृह मन्त्रालयमातहतकै भएकाले प्रहरीबाटै यसमा विस्तृत अनुसन्धान हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । मन्त्रालयले शुक्रबार लामो समयदेखि अध्यागमनमा बस्दै आएका केही अधिकृतलाई पनि हटाएको छ ।

अध्यागमनमा एक सय ३० अधिकृत कार्यरत छन् । पहुँचवाला कर्मचारीको मात्र अध्यागमनमा सरुवा हुने गरेको मन्त्रालयका अधिकारी बताउँछन् । भिजिट भिसाकै सेटिङका लागि अध्यागमन लामो समयदेखि बदनाम छ । विगतका वर्षमा पनि कर्मचारीकै मिलेमतोमा तस्करी भएको विषयमा छानबिन भए पनि कसैलाई कारबाही भएको थिएन ।

सुन तस्करीमा नागरिक उड्डयनकै कर्मचारीको संलग्नता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा नागरिक उड्डयन कार्यालयकै कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । त्यहाँका चार कर्मचारीलाई भन्सारले पक्राउ गरेको छ । उनीहरूले विगतमा पटक–पटक सुन पास गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । दुईजना स्थायी र दुईजना करारका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए । उनले भने, ‘नागरिक उड्डयनका चार कर्मचारी नियन्त्रणमा छन्, उनीहरूको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’ नागरिक उड्डयनका कर्मचारी सुन तस्करीमा पक्राउ परेको पहिलोपटक हो । भन्सार, एयरलाइन्स र प्रहरीका कर्मचारी भने विगतमा पनि पक्राउ परेका थिए ।

पक्राउ परेकाहरू तल्लो तहका कर्मचारी हुन् । पक्राउ पर्नेमा प्लम्बर, सुरक्षागार्ड तथा अप्रेटरहरू रहेको भन्सार स्रोत बताउँछ । उनीहरूले विमानस्थलको सुरक्षा कमजोरी पत्ता लगाई सुन पास गराउने गरेका थिए । विमानस्थलमा सरसफाइको काम गर्ने तीन कर्मचारी पनि पक्राउ परिसकेका छन् । विदेशबाट आउनेसँग शौचालयमा सुन लिने र उनीहरूले फोहोरभित्र राखेर पास गराउँदै आएका थिए । यसरी लामो समयदेखि सयौँ केजी सुन तस्करी भइसकेको आशंका गरिएको छ ।

गत २२ मंसिरमा भन्सारले १४ किलो सुन बरामद गरेपछि यसमा छानबिन सुरु भएको हो । दुबईबाट आएका मीनबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनीजस्तै विगतमा सुन ल्याउने श्रीकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् । तस्करीको व्यवस्थापनमा संलग्न चन्द्र घलेसहित १० जना पक्राउ परिसकेका छन् ।

सुन तस्करी गर्ने भरियाहरूले पाँच रुपैयाँको नोट लिएर जाने, सो नोट दुबईका एजेन्टलाई दिने गर्दथे । ती एजेन्टहरूले उनीहरूलाई सुन दिएर पठाउने गरेको खुलेको छ । ‘एक तहबाट अर्काे तहबीच सम्बन्ध टुटाएर संगठित रूपमा तस्करी हुने गरेको देखिन्छ,’ भन्सार प्रमुख पाण्डेले भने । नयाँपत्रिका

 

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस