२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१४ पटक अन्तर्वाताबाट फालिएर पनि हरेस नखाएका युवराज सर- जागिर प्रवेशको अन्तिम उमेरमा सफल

Yubraj sir- successful in getting job entry at the last age

रुपन्देही । धेरै व्यक्ति एक दुईपटक असफल भएसँगै त्यो क्षेत्रमा केही भविश्य नभएको र आफ्नो कुनै भाग्य नभएको भन्दै भाग्ने गदर्छन् । तर नवलपुरको देवचुली नगरपालिका वडा नं १२ निवासी युवराज पराजुलीले १४ पटकसम्म लिखित परीक्षामा नाम निस्केर अन्तरवार्तामा फालिँदा पनि हरेश नखाई १५ औं पटकको प्रयासमा सरकारी सेवामा प्रवेश गरेका छन् ।

अझै रोचक विषय त यो पटक उनको उमेर पनि सरकारी सेवा प्रवेशका लागि अन्तिम वर्ष रहेको थियो । शिक्षक सेवा आयाेगमा ४० वर्ष सम्म मात्र भिड्न पाउँछ । फर्म भर्दा ४० नकटेका उनी रिजल्ट आउँदा कटिसकेका छन् । १८ वर्षसम्म शिक्षण सेवा गरेका देवचुली १२, नवलपुरका युवराज पराजुली अहिले चारैतिर संघर्षको उदाहरणीय पात्रको रुपमा गनिन थालेका छन् । उमेरले भर्खरै ४० टेकेका पराजुली २०६३ सालदेखि शिक्षण सेवामा लागेका हुन् ।

उनी १४ पटक विभिन्न तहका आयोगमा वैकल्पिकमा परेर अहिले सफल भएपछि चारैतिरबाट बधाईको ओइरो लाग्न थालेको छ । शिक्षकका लागि पनि उमेर सकिन केही समय बाँकी रहेको बेला दिएको परीक्षामा उनले नाम निकालेर सफलता पाएपछि उनका आफन्त, शुभेच्छुक, विद्यार्थी मात्रै होइन सामाजिक सन्जाल चलाउने धेरैले बधाई लेखिरहेका छन् ।

‘पहिलोपटक ७० मा लिखितमा निमावि तहमा निकालेँ, लिखितमा भएपछि पास भएँ भन्नेथियो तर अन्तरवार्तामा फालिएपछि निकै चिन्ता लायो, एकसाता केही गर्न सकिन, तर पुनः काम थालेँ पढ्न पनि थालेँ,’ पराजुलीले भने ।

०६५ मा समाजशास्त्रमा एमए गरेका उनले ०६३ देखि सरकारी विद्यालयको निजी स्रोतमा पढाउन थालेका हुन् । अहिले पनि उनी सुनवलको महाकवि देवकोटा माविमा सामाजिक विषय पढाइरहेका छन् ।

२०७० यता शिक्षक सेवा आयोगका ४ वटा विज्ञापनमा र लोक सेवा आयोगका ३ वटा विज्ञापनमा वैकल्पिकमा परेका पराजुली राहत शिक्षकमा पनि ७ पटक वैकल्पिकमा परेका थिए । यसरी पटक–पटक लिखितमा नाम निकालेर वैकल्पिकमा परेर पनि हरेश नखाएका पराजुली उमेर सकिन लाग्दा अन्तिम पटक भरेको विज्ञापनको नतिजामा सफलता पाएपछि निकै खुसी छन् ।

गण्डकी प्रदेशबाट सामाजिक विषयमा निम्न माध्यमिक तहमा प्रकाशित नतिजामा सिफारिस परेपछि निरन्तरको संघर्षबाट सफलता पाउने उदाहरणीय पात्रका रुपमा सामाजिक सन्जालमा भरिएका छन् ।

पराजुली आफैले पनि निरन्तर संघर्षका कारण पाएको सफलता भन्छन् । ‘धेरै पटक धेरै ठाउँमा नाम निस्केर पनि वैकल्पिकमा बस्नुपर्यो, यो बीचमा मैले पढाएका धेरै विद्यार्थीहरु पनि पास भएर गए तर मैले आफ्नो पेशा र परीक्षालाई नियमित गरिरहेँ, त्यही कारण यो सफलता पाएको हुँ’–उनले भने ।

देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकाल निरन्तर संघर्षरत पात्रका रुपमा पराजुली सर उदाहरणीय पात्र भएको बताउँछन् । पराजुलीको सम्पर्क नम्बरका लागि ढकालसँग सोधिएको पहिलो प्रश्नमै उनले भने –‘ए,,,,, पराजुली सरलाई किन नचिन्नु नि, मेहनतको पर्यायजस्तै, अहिले निमावि तहमा उत्तिर्ण हुनुभएको हो, उदाहरणीय पात्र ।’ ढकालले नयाँ तथा पुराना सबै उमेरका व्यक्तिले पराजुली सरको संघर्षबाट पाठ सिक्न सकिने बताउँछन् । देवचुली नगरपालिका वडा नं १२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले आफ्नो वडाबाट निकै धेरै मेहनत गरेर सफलता पाउने व्यक्तिको रुपमा युवराज पराजुली सरलाई बुझेको बताउँछन् ।

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस