२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको मधेसमा हिउँचितुवा भेटिएपछि विश्व नै चकित !

The world was surprised when a snow leopard was found in Madhes Nepal!

काठमाडौं । मोरङको चारघरे भन्ने ठाउँको बाँसघारीमा विश्वकै दुर्लभ ‘हिउँचितुवा’ भेटिएको छ । त्यहाँबाट ललितपुरस्थित सदर चिडियाखाना ल्याइएको छ । मधेसमा ‘हिउँचितुवा’ देखिएको समाचार देखेपछि विश्वजगत नै चकित भएको छ । अधिकांश जीवजन्तु र प्रकृती विद्हरुले आश्चार्य मानिरहेका छन् ।

सामान्यतया समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाइमा रहने हिउँचितुवा मंगलबार दिउँसो करिब १५० मिटर उचाइको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको थियो। यो घटनाले सबैलाई आश्चर्यमा पारेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले उक्त हिउँ चितुवालाई बेहोस बनाएर राति नै चिडियाखाना ल्याइएको जानकारी दिए।

‘उपयुक्त बासस्थानको व्यवस्था गर्न राति नै चिडियाखानामा ल्याइयो। यहाँ क्वारेन्टिनको व्यवस्था हुन्छ। आवश्यकताअनुसार उपचार पनि हुन्छ,’ उनले भने, ‘अहिले पशु स्वास्थ्यकर्मीहरूले उसको स्वास्थ्य अवस्था हेरिरहनुभएको छ।’ खुट्टामा चोट लागेको हिउँचितुवालाई केही दिन ‘अब्जर्ब’ मा राखेर स्वास्थ्य अवस्था बुझिने अधिकारीले बताए।

‘सँगै हामी यो जनावर त्यहाँ कसरी आइपुग्यो भन्ने विषयमा पनि अध्ययन गर्छौं। सबै कुरा अध्ययन गरेपछि विज्ञ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गरेर आवश्यक निर्णय गर्नेछौं,’ उनले भने। हिउँचितुवा कञ्चनजंघा संरक्षण क्षेत्रतिरबाट खानाको खोजी गर्दै तराई झरेको, बाटो बिराएको, जलवायु परिवर्तनका कारणले, कसैले हुर्काएर छाडेको वा तस्कारी गरेर कतै लैजान लाग्दा छुटेको हुनसक्ने अनुमान उनको छ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख रहेका हिउँचितुवासम्बन्धी विज्ञ मधु क्षेत्रीको अनुमान भने आमाबाट छुटेको बच्चा अल्मलिएर तल्लो क्षेत्रमा आइपुगेको हुनसक्ने छ। ‘अहिले नै ठ्याक्कै यही कारण हो भन्न त गाह्रो छ। फोटोमात्रै हेर्दा उसको बनावट, टाउको आकार हेर्दा आमासँग हिँडेको बच्चा छुटेर तल आइपुगेको अनुमान मेरो छ,’ उनी भन्छन्, ‘चकचके बच्चा छुटेर अल्मलिएको हुनसक्छ।’

क्षेत्रीकाअनुसार हिउँचितुवाहरू कहिलेकाहीँ निकै लामो दूरीको यात्रा गर्छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा तयार पारेको नेपालमा हिउँचितुवा संरक्षण कार्ययोजना (२०१७–२०२१) मा कञ्चनजंघा संरक्षण क्षेत्रबाट हिँडेको हिउँचितुवा एक हजार वर्गकिलोमिटरभन्दा लामो दूरी पार गरेको उल्लेख छ।

रेडियो कलर जोडिएका यहाँका हिउँचितुवा भारतको सिक्किम, भुटान, चीनसम्म पुगेको पाइन्छ। क्षेत्रीले लामो दूरी पार गर्नेक्रममा कहिलेकाहीँ बच्चाहरू आमाबाट छुटेर अल्मलिन सक्ने बताए। ‘कसैले सानैदेखि पालेको रहेछ भने त उसको व्यवहारबाट पनि थाहा भइहाल्छ,’ उनले भने। नेपालमा ३ हजारदेखि ६ हजार मिटर उचाइसम्म भेटिने हिउँचितुवालाई आइयुसिएनले संकटग्रस्त वन्यजन्तुको सूची ‘रेड लिस्ट’ मा राखेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यो संरक्षित वन्यजन्तुको सूचीमा छ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस